आगलागीमा परी छ चौपाया मरे, लाखौँको क्षति

Posted on: 15 Dec, 2017

मङ्सिर २९, गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् भने दुईवटा चौपाया गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार रानी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगलागीमा परी गोठभित्र रहेका तीन भैँसी, तीन बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु गम्भीर घाइते भएका छन् । 

त्यस्तै, रायको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्रका काठ, दाउरा, भुस, पराललगायत सबै सामग्री गरी रु छ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

आगलागी स्थानीय, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!