पोखरा महोत्सव पुस २७ देखि शुरु हुने

Posted on: 19 Dec, 2017

पुस ४, पोखरा (रासस) | पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ । 

युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ । 

देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकूद तथा पर्यटनको विकासवाट देशलाई संवृद्धितर्फ अग्रसर गराउने महोत्सवको उद्देश्य रहेको छ । 

त्यस्तै यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कलाकारहरुको प्रतिभा प्रष्फुटन एवं पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष रहेको छ । 


महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाका सामान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उपभोग्य वस्तुहरुको प्रदर्शनी, सूचना प्रविधि र व्यवसायिक संघसंस्थाहरुको सेवाको बारेमा समेत जानकारी गराइनेछ । 

दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष राखिएको छ । १२ दिनसम्म चल्ने सो महोत्सवमा रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख आम्दानी हुने अनुमान गरिएको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी गराउनुभयो । 

महोत्सवमा सर्वसाधारणलाई रु ८०, विद्यार्थीहरुलाई रु ६० तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!