काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

Posted on: 21 Dec, 2017

पुस ६, बनेपा  । काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् ।

भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो । 

पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको छ उहाँले भन्नुभयो । प्रमुख गैडाले काभ्रेपलाञ्चोकको भूकम्प पीडितका लागि आएको रु दुई अर्ब ५० करोडमध्ये चालु आवको भदौदेखि मंसिरसम्म चार महिनामा रु ७६ करोड ३० लाख खर्च भएको जानकारी दिँदै यो खर्च अझै बढ्दै जान्छ भन्नुभयो । 

जिल्लाको मण्डनदेउपुर नगरपालिकाको चण्डेनीमण्डन, सापिङ, उग्रचण्डीनाला, बनेपाको रविओप, पनौतीको कुशादेवी, पनौतीकै बल्थली, पाँचखाल लगायतका क्षेत्रमा पुनः निर्माण भएको बताइएको छ । 

पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका अनुसार ७२ हजार ४१७ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ६५ हजार ७७३ छन । त्यसमध्ये प्रथम किस्ता बापतको राहत रकम पाउने ६५ हजार ७७३, दोस्रो किस्ता बापतको राहत रकम पाउने नौ हजार ३१८ र तेस्रो किस्ता बापतको राहत रकम पाउने दुई हजार ९०५ रहेका छन् । 

प्रमुख गैडाले पानीको समस्या, काठको समस्या र दक्ष कामदारको अभावले पनि पुनः निर्माण प्राभावित भएको बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!