खोटाङमा कोष तथा लेखा नियन्त्रक कार्यालय आफ्नै भवनमा

Posted on: 24 Dec, 2017

चिसाङ शेर्पा पुस ९, खोटाङ । एक करोड ८३ लाखको लागतमा निर्माण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन उदघाटन गरिएको छ । दिक्तेल बजारको रत्नपार्कमा रहेको तीन तले भवन आईतबार महालेखा नियन्त्रक रामकुमार आचार्यले उद्घाटन गर्नु भएको हो ।

लामो समयसम्म भाडाको कोठाबाट सञ्चालन हुँदैआएको कोलेनिकाका लागि स्थानीय समाजसेबी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निशुल्क दिएपछि कोलेनिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरिएको हो । ठेकेदार कम्पनी श्रीजयन्ती÷एडी÷जगदम्बा जेभी बौद्ध–६ काठमाडौंले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरेको कोष नियन्त्रक लालबहादुर केसीले बताउनुभयो । 

१ करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणका लागि २०७१ भदौ १३ गते सम्झौता गरेको थियो ।

      भवन उदघाटन कार्यक्रममा कोलेनिकाका लागि निशुल्क जग्गा दिने जग्गादाता चन्द्रबहादुर कार्कीलाई सम्मान गरिएको छ । मालपोत कार्यालयमा नासु पदमा कार्यरत जग्गादाता कार्कीलाई महालेखा परिक्षक आचार्य, उपमहादेखा परिक्षक सुर्यमणी गौतम, उपमहादेखा परिक्षक भुवनप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दोसल्ला ओढाएर, फूलमाला र अबिर सहित सम्मान–पत्र प्रदान गरेका छन् । 

क्याप्सन : कोष तथा लेखा नियन्त्रक कार्यालयको भवन उद्घाटन गर्दै महालेखा नियन्त्रक रामकुमार आचार्य, तस्बिर सौजन्य, दमन राई 


यस बिषयमा तपाइको प्रतिक्रिया...!