तुलसीपुरस्थित पातुखोलामा झोलुङ्गे पुल निर्माण, स्थानीयबासी खुशी

Posted on: 26 Dec, 2017

पुस ११, दाङ । तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् । 

पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् । 


जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ । 

“वर्षौंको पुलको सपना आज पूरा भएको छ, तुलसीपुर बजारसम्म जान हामीलाई वर्षात्को समयमा हम्मेहम्मे हुने गरेको थियो अब भने सजिलै बजारसम्म जान सकिने भयो” – स्थानीय रेश्मी वलीले भन्नुभयो । 

केटाकेटीलाई विद्यालय पु¥याउन त्यतिकै समस्या थियो । वलीले भन्नुभयो– “अब भने ढुक्कका साथ केटाकेटी पढ्न जानपाउने छन्, कतिले त खोलामा ज्यानै जोखिममा पारेर खोला तर्नुपर्ने समस्या थियो ।” 

उहाँ जस्तै वृद्धा पवित्रा विकले पनि पुल निर्माणसँगै आफूहरुलाई सहजता हुनुका साथै आज खुशी लागेको बताउनुभयो । “वृद्धवृद्धालाई भत्ता लिन तुलसीपुर जान समस्या थियो, बर्खा लाग्यो भने की तलबाट पुल तरेर बजार जानुपथ्र्याे होइन भने हिउँदनै पर्खनुपर्ने समस्या थियो । 


त्यसैगरी, कक्षा १ मा अध्ययन गर्ने पार्वती पुनले पनि पुल बनेसँगै आफूहरुलाई सहज भएको बताउनुभयो । उहाँले अब सहजै विद्यालयसम्म जान पाउने भएकोमा आफूहरु खुशी भएको बताउनुभयो । 

उनीहरु जस्तै यहाँका पातुखोला आसपास, डाँडा खुटी, हरेवास, नाउला, बल्ले, दमारगाउँ, चिसापानीका करिब एक हजारभन्दा बढी घरधुरीलाई सहजता भएको स्थानीय हुमबहादुर विकले बताउनुभयो । 

सेवा प्रतिष्ठान नेपालको रु ४५ लाख, जिल्ला समन्वय समितिको रु दुई लाख आठ हजार, समुदायको रु एक लाख बराबर श्रमदान र नगरपालिकाको रु एक लाख गरी झण्डै रु ५० लाख १७ हजारमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर विकले बताउनुभयो । पुल ७० मिटर लामो रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!