पोखरामा दुई मेला र महोत्सव हुँदै

Posted on: 04 Jan, 2018

पुस २०, पोखरा । पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । 

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । 

त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव गर्ने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी झण्डै दुई किमीमात्रै छ । 

पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य प्रायोजनमा लक्ष्मी समूह छ भने पोखरा महोत्सवको मुख्य प्रायोजनमा सालिमार सिमेन्ट रहेको छ । 

‘लगानीको संवद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको व्यापार मेला दुई लाख दर्शकले अवलोकन गर्ने र मेलामा रु ९० लाख आम्दानी र रु ६० लाख खर्च भई रु ३० लाख बचत हुने अपेक्षा गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । 

त्यस्तै अमरसिंहचौरमा गर्न लागेको पोखरा महोत्सवको मूल नारा ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने रहेको छ । दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

महोत्सवमा रु एक करोड १४ लाख आम्दानी तथा रु ७९ लाख खर्च भई करिब रु ३५ लाख बचत हुने क्लबका अध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिनुभयो । एकै ठाउँमा रहेका दुई संस्थाले एउटै मितिमा मेला र महोत्सव गर्न लागेको सम्भवतः पोखरामा यो पहिलोपटक हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!