झापाको गौरादह नगरपालिकाको बजेट ८२ करोड

Posted on: 05 Jan, 2018

पुस २१, दमक । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ८२ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

बिहीबार पहिलो नगरसभाले नगरपालिकाको रु ८२ करोड सात लाख ३६ हजार १९४ को अनुमानित आयव्यय सार्वजनिक गरिएको हो । बजेटको चालु खर्चतर्फ आम्दानीको ४६.३६ प्रतिशत अर्थात् रु ३८ करोड चार लाख ३२ हजार ४०० र पूँजीगत खर्चतर्फ ५३.६४ प्रतिशत अर्थात् रु ४४ करोड तीन लाख तीन हजार ७४४ विनियोजन गरिएको नगर प्रमुख रोहित शाहले जानकारी दिनुभयो । 

नगर प्रमुख शाहले गौरादह नगरलाई पर्यटकीय, शैक्षिक, व्यापारिक, व्यावसायिक तथा बसोबासयोग्य हरितसँगै आधुनिक स्मार्ट सिटी बनाउन बजेटसहितको नीति तथा कार्यक्रमबाट जोड दिइएको बताउनुभयो । नौवटा वडा रहेको नगरको पछिल्लो जनसंख्या करिब ६६ हजार पुगेको नगरपालिकाले जनाएको छ । 

झापा क्षेत्र नं ५ का प्रदेशसभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको नगरसभा उद्घाटन कार्यक्रममा निवर्तमान सांसद दीपक कार्की, नगर उपप्रमुख गीता भेटवाललगायतले बोल्नुभएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!