झापामा भत्किएका नहरका संरचना मर्मत सम्भार हुँदै

Posted on: 05 Jan, 2018

पुस २१, भद्रपुर । चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ । 

झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७ मा बनाइएको नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्षेत्रका जनता सिँचाइबाट बञ्चित भएका थिए । 

गौरीगञ्ज र जुरोपानी क्षेत्रका करिब एक हजार ५०० हेक्टर जग्गामा सिँचाइ हुने सो नहरको हेडवक्र्स निर्माण गर्न रु चार करोड ७७ लाख ७८ हजारमा निर्माण गर्न कनकाई÷एलपीएस जेभी र नहर सञ्चालनका लागि थप निर्माण गरिने संरचनाका लागि रु तीन करोड ५३ लाख लागतमा निर्माण गर्न याकथुमहाङ÷एसएएस सत्तासी जेभीलाई ठेक्का दिइसकेको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो । 

निर्माण हुने संरचना अगामी विसं २०७६ असार महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने यसका लागि निर्माण कम्पनीलाई द्रुतगतिमा काम अघि बढाउन डिभिजन प्रमुख तिवारीले निर्देशन दिनुभयो । 

छ किमी लामो र छवटा शाखा रहेको सो नहरको संरचना पहिलेभन्दा बलियो बनाउने र यसका लागि चाहिने विज्ञ, प्राविधिक, इञ्जिनियरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको संरचनाका बारेमा शंका नगर्न पूर्वाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक मोहनकुमार शाक्यले बताउनुभयो । 

नहर जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम रिजालले यो नहर निर्माण यहाँका जनताको जीवन मरणको सवाल भएकाले यसलाई आगामी दिनमा दुरुस्त राख्नु गर्नुपर्ने उपाय अवलम्बन गर्न सिँचाइ विकास डिभिजन कार्यालयलाई आग्रह गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!