व्यवसाय गर्ने चाहाना भएकाहरुलाई सल्यानमा उद्यमशिलता विकास तालिम

Posted on: 07 Jan, 2018

पुस २३, सल्यान | घरेलु तथा साना उद्योग विकास समिती सल्यानले सम्बन्धीत स्थानीय तहसंगको संयुक्त आयोजनामा जिल्लाभर उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ । व्यवसाय गर्ने चाहाना भएका युवायुवतीहरुका लागी तालिम सञ्चालन गरिएको कार्यालयले जानकारि दिएको छ ।

जिल्लाको शारदा नगरपालिका तथा त्रिवेणि, ढोरचौर, छत्रेश्वरि, कालिमाटी गाउँपालिकामा तालिम सम्पन्न भइसकेको जनाउँदै निमित्त वरिष्ट उद्योग अधिकृत लोक बहादुर वस्नेतले कपुरकोट गाउँपालिकामा पनि १० दिने तालिमको आज आइतबार समापन गरिएको बताए ।

तालिममा सफल उद्यमी बन्नका लागि आवश्यक पर्ने गुणहरु, उद्यम गर्ने तरिका र विधि, उद्यमका लागि आवश्यक पूर्वतयारी, व्यवसाय, उद्यमी र उद्यमशीलता, लघु, घरेलु तथा साना व्यवसायमा आउने समस्या, चुनौती र समाधानका उपाय, सफल उद्यमीका विशेषताहरु, माग र आपूर्तिमा आधारित व्यवसायिक खेल, बजार र बजारीकरण तथा विक्री रणनिती, व्यवसायिक योजनाबारे जानकारी, एकीकृत व्यवसाय व्यवस्थापनको अवधारण र प्रक्रिया जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।


कपुरकोट गाउँपालिका भित्रका २० जनाको सहभागीता रहेको तालिम गत पुस १३ गते शुरु भएको थियो । तालिममा सहभागीहरुले छनौट गरेर उद्यम गर्न चाहेमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् ।

तालिम समापन कार्यक्रममा कपुरकोट गाउँपालिकाका पमुख प्रशाशकीय अधिकृत सुवास रिजाल, वडा नम्बर तीनका वडाध्यक्ष मिन बहादुर सेन, लेखापाल विष्णु आचार्य, नासु जीवराज खत्री लगाएतकाले बोल्दै तालिमका सहभागीहरुलाइ अब जिल्लामा उदाहरणीय उद्यमी बनेर देखाउन शुभकामना दिएका थिए । साथै सहभागीहरुलाइ प्रमाणपत्र पनि प्रदान गरिएको थियो । अव बाँकी रहेका वन्गाड कुपिण्डे र बागचौर नगरपालिका तथा दार्मा र कुमाखमालिका गाउँपालिकामा पनि यस प्रकारको तालिम सञ्चालन गरिने वरिष्ट उद्योग अधिकृत लोक बहादुर वस्नेतले जानकारि गराएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!