हालसम्म सात हजार २६० उद्योग दर्ता, जसमा ठूला उद्योगको शंख्या नौ सय ८४

Posted on: 10 Jan, 2018

पुस २६, काठमाडौँ (रासस) | उद्योग विभागले हालसम्म सात हजार २६० उद्योग दर्ता गरेको छ । 

ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म सात हजारभन्दा धेरै उद्योग दर्ता गरेको हो । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना चार हजार ६७४ उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिनुभयो । 

विभागले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, रु १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र रु २५ करोडभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । 

स्वदेशी लगानीका साना उद्योग दर्ता भने साना तथा घरेलु उद्योग विभाग तथा साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् । 

यस्तै, विभागमा तीन महिनाको अवधिमा १०० भन्दा धेरै उद्योगले म्याद थप गरेका छन् । उद्योग दर्ता गरेर सञ्चालनमा नआएका उद्योगलाई विभागले म्याद थपका लागि असोज ३० गते तीन महिनाको म्याद थप सूचना जारी गरेकोमा हालसम्म १०० भन्दा बढी उद्योगले म्याद थप गरेको विभागले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!