वैदेशिक सहायता रकममा ३० प्रतिशतले वृद्धि

Posted on: 11 Jan, 2018

मनोज पराजुली,काठमाडौँ ।  नेपालमा विदेशबाट भित्रिने वैदेशिक सहायता रकम राष्ट्रिय प्रणाली अनुरुप आउने क्रम वृद्धि भएको पाईएको छ । 

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को विकास सहायता प्रतिवेदनले राष्ट्रिय प्रणाली अनुरुप वैदेशिक सहायता आउने क्रम वढेको देखाएको हो ।

आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर वैदेशिक सहयोग नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७२/०७३ मा एक अर्ब ७ करोड अमेरिकी डलर भित्रिएकोमा आर्थिक वर्ष २०७३/७४ मा ३० प्रतिशतले वृद्धि भएको हो ।

कुल सहायता रकम मध्ये ७३ प्रतिशत सरकारी बजेटका कार्यक्रम मार्फत आएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो । कुल सहायतामध्ये ४२ प्रतिशत अनुदान, ३९ प्रतिशत ऋण र १९ प्रतिशत प्राविधिक सहयोग रहेको उहाँको भनाई छ ।

प्रतिवेदनका अनुसार संस्थागत तर्फ सबैभन्दा धेरै साढे ३४ करोड अमेरिकी डलर सहयोग विश्व बैँकले गरेको छ भने एसियाली विकास बैँक २५ करोड ३८ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

सहयोग गर्नेहरुमा देशगत रुपमा अमेरिका,बेलायत जापान ,चीन र भारत अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा धेरै शिक्षामा खर्च 

बैदेशिक सहायता अन्तर्गत प्राप्त रकम मध्ये सबैभन्दा बढी शिक्षामा खर्च भएको छ  । कुल रकमको ९ दशमलव १ प्रतिशत शिक्षा   ,८ दशमलव ८ प्रतिशत स्थानीय विकास, ८ प्रतिशत हाउजिंगमा, ७ दशमलव ३ प्रतिशत रकम, नीति र रणनीति निर्माणमा खर्च भएको   वित्तीय  सहायता प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश ३ मा सबैभन्दा बढी खर्च 

प्राप्त बैदेशिक सहायता रकमको सबैभन्दा धेरै रकम प्रदेश नम्बर ३ मा खर्च भएको छ । ३ नम्बर प्रदेशमा ३५४.७७ मिलियन डलर, प्रदेश १ मा ६१.६८ मिलियन,  प्रदेश नम्बर  ७ मा ६१.१ मिलियन अमेरिकी डलर खर्च भएको छ ।   

त्यस्तै प्रदेश २ मा ५६.१ मिलियन,प्रदेश ५ मा .६ मिलियन डलर  खर्च  भएको छ भने सबैभन्दा कम  प्रदेश नम्बर ४ मा ३४.७ मिलियन  अमेरिकी   डलर खर्च भएको देखिएको छ ।

सरकारको बजेट कार्यक्रम मार्फत वैदेशिक सहायता वृद्धि हुँदा सरकारले गर्ने पुँजीगत खर्चको स्रोत परिचालनमा सहयोग पुग्ने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!