दाङमा व्यापारिक तथा औद्योगिक महोत्सव शुरु

Posted on: 13 Jan, 2018

पुस २९, दाङ । ‘कृषि, उद्योग, व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान’ भन्ने मूल नाराका साथ दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक महोत्सव शुक्रबारदेखि यहाँ शुरु भएको छ । 

राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकस्थित निमार्णाधीन बसपार्कमा शुरु भएको सो महोत्सवमा डेढ सय भन्दा बढी स्टल राखिएको आयोजकले जनाएको छ । 

सबै स्टल बुकिङ भइसकेको र स्टलका व्यापारीसमेत महोत्सवस्थलमा आइसकेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष भीमबहादुर मरासिनीले जानकारी दिनुभयो । 

महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताको प्रतिस्पर्धा गराइने छ । यसका साथै राप्तीका समग्र पर्यटन प्रवद्र्धन र विकासका लागि राप्ती नदीमा ¥याप्टिङ गराउने महोत्सवका मुख्य आकर्षक रहने छन् । 

महोत्सव अवधिभर ख्याति प्राप्त केन्द्रीय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकार गीतसंगितको प्रस्तुति र राप्ती आइडल प्रतियोगितासमेत हुने कार्यक्रमका निर्देशक विराज विष्टले जानकारी दिनुभयो । इन्द्रणी युवा क्लबको भवन निमार्णका लागि आयोजना गरिएको सो महोत्सव ११ दिनसम्म सञ्चालन हुने बताइएको छ । 

शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि, ऊर्जा एवं पर्यटनलगायत समग्र क्षेत्रको विकास गर्ने लक्ष्य महोत्सवको छ । 

करिब तीन लाख दर्शकले अवलोकन गर्ने तथा रु दुई करोडको कारोबार हुने अनुमान गरिएको सो महोत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!