गुल्मी: नेवा बर्जु पुचको लागि दुई रोपनी जग्गा प्रदान

Posted on: 13 Jan, 2018

पुस २९, गुल्मी । गुल्मीको वामीमा रहेका नेवार समुदायको संस्था नेवा बर्जु पुचको मन्दिरसहितको भवन निर्माण गर्न दुई व्यक्तिद्वारा जग्गा प्रदान गरिएको छ । 

मुसिकोट नगरपालिका–७ वामी निवासी मोहनलाल श्रेष्ठ र मनोज श्रेष्ठले संयुक्तरुपमा मुनपाको सोही वडा इस्मालीथानस्थितको दुई रोपनीभन्दा बढी जग्गा निःशुल्करुपमा पुचको लागि सहयोग गर्नुभएको नेवा बर्जु पुचका कोषाध्यक्ष चिरञ्जीवी शाक्यले जानकारी दिनुभयो । 

उक्त जग्गामा मन्दिर भवन निर्माण गरिने हुँदा नेवारी संस्कृतिको इही, व्रतबन्ध, विवाह, भोजलगायतका कार्य गर्न सहज हुने कोषाध्यक्ष शाक्यले जानकारी दिनुभयो । नेवा बर्जु पुचले नेवार समुदायले आफ्नो कला संस्कृति र रीतिरिवाजको जर्गेना तथा प्रवद्र्धन गर्दै आइरहेको छ । 

पुच संस्थाको अगुवाइमा नेवार समुदायका विभिन्न नेवारी कला संस्कृति र झाँकी समय समयमा देखाउनुका साथै नेवार समुदायको उत्थानको लागि विभिन्न काम गरिने समाजसेवी सुन्दर प्रधानले जानकारी दिनुभयो । प्रदान गरिएको जग्गालाई छिट्टै संस्थाको नाममा रजिष्ट्रेशन पास लिने समाजसेवी प्रधानले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!