खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात, भाडादर कति ?

Posted on: 15 Jan, 2018

चिसाङ शेर्पा | माघ १, खोटाङ | खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको अस्पतालचोकदेखी दिप्रुङ गाउँपालिका टेम्माको पञ्चमीबजारसम्म ५० किलोमिटर सडकमा आईतबारबाट सिधा यातायात शुरु भएको हो ।

बारम्बार ताकेतापछी बिगत केहीदिन यता त्यस रुटमा सवारीसाधन सञ्चालन भएता पनि आईतबार खोटाङ यातायात व्यवसायीसंघको बा २ ख ३४४१ नम्बरको गाडी गुडाएर विधिबत तरिकाले यातायात सञ्चालन गरिएको हो । दिक्तेलबाट खोटाङ यातायात व्यवसायीसंघका उपाध्यक्ष फडिण्द्र राई, महासचिव राम कुमार हिङमाङले लिएर पुगेको गाडीलाई स्थानियले फुलमाला अविर लगाएर स्वागत गरेका थिए । दिप्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राई, उपप्रमुख सपना राईले एकसाथ रिबन काटेर त्यस रुटमा विधिबतरुपमा सवारी साधन सञ्चालनका लागि अनुमती दिएका हुन् ।

दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएपछी पालिकाभित्रका ६५ बर्षमाथी उमेरका यात्रुहरुलाई निशुल्क तोकेको भाडादर कार्यान्यवन भएको दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । राईका अनुसार दिक्तेल–पञ्चमीबजार पाँचसय रुपैयाँ भाडादर कायम गरिएको छ । 

पालिकाभित्रका ६५ बर्षमाथीका बृद्धबृद्धाका लागि निशुल्क भाडादर कायम भएको र उनीहरुले केही दिन गाडी चढ्ने समयमा आफ्नो नागरिकता देखाउनुपर्ने पालिका उपप्रमुख सपना राईले बताईन् । राईका अनुसार, तत्कालका लागि उहाँहरुले नागरिकता देखाउनुपर्ने हुन्छ । केही समयपछी पालिकाले परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । बृद्धबृद्धाहरु चढेबापतको भाडादर पालिकाले ब्यहोर्ने छ ।   

यातायातका साधन नचल्दा दुख खेपिरहेका सो भेगमा स्थानियलाई दैनिक जनजिवनमा सहजता पुग्ने अनुमान गरिएको छ । यात्रुको चाप बढेमा सवारी साधन थप गर्न सकिने खोटाङ यातायात व्यवसायीसंघका महसचिव राम कुमार हिङमाङले बताए ।

बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम र्यापले ११ वर्ष लगाएर २०६९ साल असारमा उक्त सडक निर्माण  गरेको हो । र्यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको कच्ची सडक ६ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!