नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा पनि बन्द हुने

Posted on: 19 Jan, 2018

माघ ५, चितवन । निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको हो । ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । 

हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी ट्रयालका लागि १ महिना काम गर्न दिने बताए ।  

अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!