राहत पाएसँगै लमजुङमा पुनःनिर्माणले गति लियो

Posted on: 21 Jan, 2018

माघ ७, लमजुङ | सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् ।

 

पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन् । भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम रु ५० हजार वितरण गरिएको छ । भूकम्पबाट पूर्ण क्षति भएका १३ हजार ९५९ घरमध्ये १३ हजार ८४ भूकम्प पीडितले राहतको पहिलो किस्ता लिइसकेको सरकारी निकायको दाबी छ । रकम, जनशक्ति र प्राविधिकको अभावमा पुनःनिर्माणको काम अघि बढ्न नसकेपछि भूकम्प पीडित टहरा र क्षतिग्रस्त घरमै बसी जोखिम मोल्दै आएका थिए । सरकारी संयन्त्रले राहत वितरणमा ढिलाइ गर्नाले पुनःनिर्माणले गति लिन नसकेको बताइन्छ । 

भूकम्प पीडितले घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने बताइएको छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी गरिने सरकारी निकायले जनाएको छ । यसअघि जिल्लाको अति प्रभावित पूर्वी भेगका २७० घर भने गैरसरकारी संस्थाको सहयोगमा निर्माण सम्पन्न भइसकेका थिए । सो बाहेक भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै एक हजार ३०० भन्दा बढी पीडितले जिल्ला समन्वय समितिमा निवेदन दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!