सोमबार सेयर बजारमा उल्लेख्य गिरावट

Posted on: 22 Jan, 2018

माघ ८, काठमाडौँ । सोमबार सेयर बजार सामान्य ०.५८ अंकले घटेर १४०२.०९ अंकमा कायम भएको छ । 

आइतबारको तुलनामा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । आइतबार आधा अर्बमाथिको कारोबार भएको बजारमा सोमबार ३६ करोडको मात्रै कारोबार भएको छ । 

दिनभरिमा १६३ वटा कम्पनीको नौ लाख ५४ हजार छ सय ३० कित्ता सेयर तीन हजार नौ सय ३३ पटक खरिदविक्री हुँदा ३६ करोड ६४ लाख ३० हजार नौ सय ३४ रुपैयाँको सेयर कारोबार भएको हो ।

कुल कारोारमध्ये, सानिमा माई हाइड्रोको सबैभन्दा धेरै पाँच करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्सको साढे दुई करोड, फस्र्ट माइक्रोफाइनान्सको दुई करोड तथा सनराइज बैंक प्रोमोटर र नविल बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

कालिका माइक्रोक्रेडिट, सानिमा बैंक, नेपाल बैंक, कृषि विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ९७ लाख, ८३ लाख, ७८ लाख, ७५ लाख र ७१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

कामना सेवा विकास बैंक र विशाल बजार कम्पनीका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । रिडी हाइड्रो, मन्जुश्री फाइनान्स, कन्काई विकास बैंक, सानिमा माई हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, सूर्योदय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, बेष्ट फाइनान्स र ग्लोबल आईएमई समुन्नत स्किमका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । कुबेर मर्चेन्ट फाइनान्स, तिनाउ विकास बैंक, एभरेष्ट इन्स्योरेन्स, सिन्धु विकास बैंक, अरुण फाइनान्स, पोखरा फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिड फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!