घरघरमै सरकारी सेवा पुर्याउने अभियान सञ्चालन

Posted on: 24 Jan, 2018

माघ १०, लहान | शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले घरघरमै सरकारी सेवा पुर्याउने अभियान सञ्चालन गरेको छ । 

अभियानअन्तर्गत पहिलो चरणमा जनता आवास कार्यक्रमका लाभग्राहीलाई घरघरमै पुगेर चेकमार्फत रकम उपलब्ध गराउन थालेपछि सिरहामा जनता आवास भवन निर्माणको कामले तीव्रता पाएको छ । 

रकम अभावका कारण जनता आवासअन्तर्गत घर निर्माणमा ढिलाइ गरेका लाभग्राहीलाई लक्षित गरी कार्यालयले भवन निर्माणबापतको चेक घरघरमै पुर्याउन थालेपछि भवन निर्माणको कामले तीव्रता लिएको हो । 

जनता आवासअन्तर्गतको भवन निर्माणमा लापर्बाही हुन नदिन र समयमै काम सम्पन्न गर्न लाभग्राहीकै घरमै पुगेर किस्ताबापतको रकम चेकमार्फत पुर्याउन थालेपछि धमाधम भवन निर्माण हुन थालेको स्थानीयले बताएका छन् । 

भवन कार्यालयमा नयाँ प्रमुखको आगमनसँगै थालिएको नौलो प्रयासबाट हौसिएका स्थानीय लाभग्राही कार्यालयको पछिल्लो प्रयासले भवन निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तरीयताको चिन्तासँगै भवन निर्माणबापतको भुक्तानीका लागि कार्यालय धाउनुपर्ने बाध्यताबाट समेत छुटकारा पाएको बताउँछन् । 

जनता आवास भवनका लागि लाभग्राहीको रुपमा छनोट भए पनि रकम आभावकै कारण छ महिनादेखि घर बनाउन सकेको थिइन्, सिरहाको मिर्चैया नगरपालिका–१ की मकुन्तीदेवी महराले भन्नुभयो, “पक्की घर बनाउन गत साउन भदौमै फुसको छाप्रो भत्काए, तर हातमा रकम नभएकाले तत्काल घर बनाउन सकिएन ।” अहिले घरमै कार्यालयले चेक दिन थालेपछि घर बनाउन सजिलो भएको उहाँको भनाई छ । 

गत पुसको दोस्रो साताबाट घर निर्माणको काम शुरु गरेको र अहिलेसम्म ७० प्रतिशत काम सकिएको स्थानीय अर्का लाभग्राही गर्भी महराले भन्नुभयो, “भवन कार्यालयको पछिल्लो प्रयासले आफूहरुको पक्की घरमा बस्ने सपना चाँडै पूरा हुन्छ ।” 

पहिलो कुरा त अभियान चलाइएपछि भवन निर्माणको कामले गति लिएको छ, सिरहा मिर्चैया नगरपालिका–१ का अर्का लाभग्राही गणेश महराले भन्नुभयो, “अर्काेतिर भवन निर्माणमा प्रयोग हुने इँटा, छड, गिट्टी, बालुवा र सिमेन्टलगायतका सामग्रीको गुणस्तरीयताबारे समेत नियमित निगरानी हुँदै आएको छ ।” जसकारण जनता आवास भवन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग हुने सम्भावना कम रहेको उहाँको कथन छ । 

निर्माण समितिका अध्यक्षसमेत रहनुभएका गणेशले भवन निर्माण कार्यालयले चासो देखाएपछि आफूहरु पनि भवन निर्माणमा उत्साहित भएको बताउनुहुन्छ । जनता आवास कार्यक्रमलाई लक्षित गरी शुरु गरिएको घरघरमा सरकारी सेवा पुर्याउने अभियानअन्तर्गत कार्यालयबाट दैनिकपिच्छै इञ्जिनियर तथा प्राविधिकबाट भवन निर्माणमा प्रयोग भएको सामग्रीको गुणस्तरीयता परीक्षण गर्नुका साथै निर्माण भएको भवनबापतको चेक लाभग्राहीको घरघरमै पुर्याउँदै आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीका प्रमुख रमेश थिङ बताउनुहुन्छ । रासस

जनता आवासको लाभग्राही सदरमुकाम राजविराज आउन अनावश्यक रकमजस्तै गाडी भाडा, बाटो खर्चसँगै समय पनि खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्न घरघरमा सेवा पुर्याउन थालेको प्रमुख थिङको भनाइ छ । 

आव २०६६÷०६७ बाट जनता आवास कार्यक्रम सञ्चालन भएको सिरहामा हालसम्म तीन हजार भवन निर्माण भइसकेको छ । अघिल्लो आव ०७३÷०७४ मा सिरहामा एक हजार जनता आवास भवन निर्माणको काम भइरहेको छ भने चालू आवमा थप ८०० पक्की घर निर्माण गरिने प्रमुख थिङले बतानुहुन्छ । कार्यालयले भवन निर्माणबापत चार किस्तामा लाभग्राहीलाई रकम उपलब्ध गराउने व्यवस्था रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!