नुनथलामा २१ करोड लागतमा ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण हुने

Posted on: 27 Jan, 2018

चिसाङ शेर्पा माघ १३, खोटाङ । खोटाङमा बौद्ध धर्मावलम्बीहरुका लागि बिशाल गुम्बा बन्ने भएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ साविक–९ भञ्ज्याङ संसारीडाडाँमा नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा बन्ने भएको हो ।


नुनथलाका स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गामा बन्ने गुम्बामा नुनथलाका बौद्ध धर्मावलम्बीसहित आसपासका गाउँपालिका तथा नगरपालिकाका सेवाग्राहीले सुविधा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । गुम्बामा बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिन्छ अध्यक्ष तामाङले भने, गुम्बा निर्माणमा हामी सबैको सहयोगको अपेक्षा राख्दछौ । 

नगरपालिकाको क्रमागत बजेट अनुसार निर्माण हुने गुम्बाका लागि देश तथा विदेशबाट स्वेच्छिक सहयोग गर्न सकिने निर्माण उपभोक्ता समितिका सचिव मणि लामाले बताए । गुम्बा निर्माण सम्पन्नसँगै गुम्बाले दिने सुविधाका अलवा जिल्लाका लागि पर्यटन प्रर्बद्धन गर्नमा गुम्बाले सहयोग पुग्नेछ । उनले भने, ‘गुम्बाबाट नाङगो आखाँले सगरमाथा देख्न सकिन्छ, यस कारण पनि यस ठाउँ पर्यटनका लागि पटक क्षेत्र हुनेछ ।’


आगामी माघ १९ गते औपचारिक रुपमा गुम्बाको शिलन्यास हुने भएको छ । लोसाङ नाम्ग्याल रिन्पोछेबाट भूमिपुजा पश्चात भुतपुर्व सञ्चारमन्त्री तथा प्रतिनितिधसभा सदस्य शेरधन राईले गुम्बाको शिलन्यास गरिने कार्यक्रम रहेको छ । निर्माण समापनपछि गुम्बाभित्र सिठो लजोको १ सय र बौद्धधर्मसँग सम्बन्धित अन्यगरी १०८ वटा मुर्ति रहने छ । बौद्ध धर्ममा माटोको मुर्ति पबित्र हुने धार्मिक परम्परा रहेकाले सयवटा माटोको र अन्य पितल तथा ढलोटको मुर्ति राखिने गुम्बा निर्माण उपभोक्ता समितिले जनाएको छ ।

नगरपालिकाको क्रमागत बजेटले मात्रै ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण संम्भव नभएकाले देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गरिदिन समेत उपभोक्ता समितिले अनुरोध गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!