कञ्चनपुरमा भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी

Posted on: 05 Feb, 2018

माघ २२, कञ्चनपुर | बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ । 

भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्म मात्रै राजश्व उठ्ने गरेको छ । 

भारतीय सुरक्षाकर्मीले व्यापारीलाई सामान ल्याउन नदिँदा राजश्वमा कमी आएको छोटी भन्सार कार्यालयका कर्मचारी वीरसिंह धामीले बताउनुभयो । केही घरायसी सामान ल्याउन भने भारतीय सुरक्षाकर्मीले छुट दिने गरेका छन् । दैनिक रु ५०० देखि रु एक हजारसम्म राजश्व उठ्ने गरेको धामीले बताउनुभयो । 

चालू आवको साउन महिनामा रु ५० हजार, भदौमा रु ७८ हजार, असोजमा रु ८४ हजार, कात्तिकमा रु ६९ हजार, मंसिरमा रु ५१ हजार र पुसमा रु ४८ हजार राजश्व संकलन भएको छ । भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा केही व्यक्तिले भन्सार छल्दै भारतबाट ठूलो मात्रामा सामान भित्र्याउने गरेकाले पनि राजश्व संकलनमा कमी आएको स्थानीय बासिन्दा बताउँछन् । 

नायब सुब्बाको दरबन्दी रहेको उक्त छोटी भन्सार कार्यालय लामो समयदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । लामो समयदेखि भन्सारको कामकाज दुई जाना कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका छन् । 

गड्डाचौकी कार्यालयले सहयोगीलाई पालैपालो छोटी भन्सार कार्यालयमा खटाउँदै आएको छ । आफू खुशी भन्सारमा राजश्व बुझाउनेबाट मात्रै राजश्व लिने गरेको कार्यालय सहयोगी वीरसिंह बोहराले बताउनुभयो । द्वन्द्व अघि विस्थापित बेलौरी छोटी भन्सार कार्यालय पुनः स्थापना भएर कार्य सञ्चालन भए पनि भरपर्दो सुुरक्षा व्यवस्था छैन । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुईजना सशस्त्र प्रहरीका जवानले सुरक्षा दिने भए पनि साँझ ६ बजेपछि भन्सार कार्यालय सुरक्षाविहीन हुने गरेको छ । कर्मचारी असुरक्षाको कारण राति भन्सार कार्यालयमा बस्दैनन् । 

कार्यालयका संरचना जीर्ण बन्दै काम गर्न समेत कर्मचारीलाई गाह्रो छ । भन्सार कार्यालय सञ्चालनका लागि वर्षौं पहिले निर्माण गरिएका भौतिक संरचनाको संरक्षण र संवद्र्धनको कार्य नगरिँदा जीर्ण बनेका हुन । दुई तले एक र अन्य दुई भवन छोटी भन्सार कार्यालयसँग रहेका छन् । दुई तले भवन वर्षौं पहिले निर्माण भएको भवन जुनसुकै बेला भत्कने अवस्थामा छ । 

भन्सार कार्यालयसँग रहेको चार बिगाहा १७ कट्ठा जग्गा प्रयोगविहीन छ । एक सय वर्षभन्दा पुरानो छोटी भन्सार कार्यालयको स्तरोन्नतिको कार्य गरी भन्सारका रुपमा परिणत गरी भारतसँगको नाका खुलाउनु पर्ने स्थानीय बासिन्दाले जोडदिएका छन् । भारतसँगको बेलौरी नाका खुला गरेमा यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । विसं २०२९ मा बेलौरीबाट जिल्ला सदरमुकाम महेन्द्रनगर सारिएपछि छोटी भन्सार कार्यालयको स्तरोन्नति हुन सकेको छैन । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!