मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै, यस्तो छ कारण

Posted on: 18 Feb, 2018

फागुन ६, काठमाडौँ | सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ । 

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पुर्याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिन लागिएको हो । 

वर्षाको समयमा बाँधको बायाँ तर्फबाट खसेको पहिराका कारण समस्या निम्तिँदै आएको र त्यसले आयोजनाको संरचनामा समेत क्षति पुग्ने भएकाले दश दिन परियोजना बन्द गरेरै मर्मत गर्न लागिएको हो । 

मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन बन्द भए पनि यसका कारणले आम उपभोक्तालाई विद्युत् कटौतीको समस्या नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

कुनै भवितव्यले विद्युत् प्रणालीमा समस्या उत्पन्न भए मुलुकको कुनै स्थानमा केही समय भने विद्युत् आपूर्ति सामान्य रुपमा अवरुद्ध हुनसक्ने घिसिङको भनाइ छ । 

उहाँले भन्नुभयो – “यस अवधिमा विद्युत् कटौती हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत्गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्था गरिएको छ । भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । समस्या पर्ला जस्तो लाग्दैन ।” 

प्राधिकरणकाअनुसार हाल कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह एक हजार ५२१ दशमलव ९८ मिटर रहेको छ जुन गत वर्षको यही अवधिको तुलनामा ३ दशमलव ८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । 

मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको आयोजनाका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । 

“गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भारप्रेषण केन्द्र (एलडिसी)बाट विद्युत् व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो,” उहाँले भन्नुभयो – “यसवर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि दश दिनभित्र मर्मत सक्ने गरी केन्द्रबाट अनुमति पाएका छौं ।” 

आयोजना प्रमुख गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा सञ्चालन गरिने छ । सो आयोजनाबाट विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । 

अन्य समयमा नदीमा पानीको सतह घटेका कारण करिब ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । मध्यमस्र्याङ्दी आयोजना अर्धजलाशययुक्त आयोजना हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!