नेपाल विश्वका १८० देशमध्ये अति भ्रष्टाचार हुने देशको सुचीमा, जम्मा ३१ अंक पायो !

Posted on: 22 Feb, 2018

फागुन १०, काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ९ स्थान माथि उक्लिँदै ३१ अंकसहित १२२ औं स्थानमा पुगेको हो ।

तर नेपाल अघिल्लो बर्षको तुलनामा भने केहि माथि उक्लिएको छ, गत वर्ष नेपाल १३१ औं स्थानमा थियो भने सन् २०१७ को नयाँ प्रतिवेदनमा १२२ मा उक्लिएको छ । यसको मतलव नेपाल सुधारोन्मुख छ । अघिल्लो बर्षको तुलनामा कम भ्रष्टाचार भएको मानिएपनि नेपालले ढुक्क हुने स्थिति भने छैन किनकी नेपालले जम्मा ३१ अंक प्राप्त गरेको छ, जुन अति भ्रष्टाचार हुने देशहरुले पाउने अंकसमान हो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुनेमा गनिन्छ ।

राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँचलगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ । ० अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याइन्छ । सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन् । उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ । चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ ।

दक्षिण एशियाका देशहरुमध्ये अफगानिस्तान पुछारबाट चौथो स्थानमा छ । जम्मा १५ अंक पाएको अफगानिस्तान १७७ औं स्थानमा छ । यसैगरी बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं र भुटान २९ औं स्थानमा छन् ।

ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुई तिहाइ देशहरुले ५० भन्दा कम अंक पाएका छन् । यसबाट विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि कम प्रयास भएको थाहा हुने प्रतिवेदनमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!