कालिकोटको नाग्म–गमगढी सडक सुचारु

Posted on: 22 Feb, 2018

फागुन १०, कालीकोट | माघको अन्तिम साता परेको भारी हिमपातका कारण अवरुद्ध रहेको नाग्म–गमगढी सडक खण्ड बिहीबारबाट खुलेको छ। हिमपातका कारण अवरुद्ध उक्त सडक खण्डमा स्काभेटरले हिउँ पन्छाएपछि खुलेको हो। भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा मुगु आवतजावत पनि अवरुद्ध भएपछि कुनै पनि सवारीका साधन चल्न सकेका थिएनन्।

सडक डिभिजन कार्यालय जुम्लाले बाटोमा जमेको हिउँ हटाई सडक सुचारु भएको, गमगढीदेखि घुच्ची लेकसम्मको सडक खण्डअन्तर्गत घुच्ची लेकको सात घुम्तीमा धेरै हिउँ जमेको र सडक विभागले डोजर लगाएर हिउँ हटाएपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

‘स्काभेटरले सडकमा जमेको हिउँ पन्छाइरहेको र साना सवारी साधन संचालन हुने अवस्था रहे पनि छिटोभन्दा छिटो मालवाहक तथा यात्रुवाहक यातायातका साधन गुड्न सक्ने बनाएको छ’, उनले भने, ‘लामो समयसम्म सडक अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन सक्ने भएकाले त्यो अवस्था आउन नदिन सडक विभागलाई जसरी भए पनि सडक खुलाउन निर्देशन दिएपछि सडक खुलेको हो।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!