अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

Posted on: 26 Feb, 2018

फागुन १४, धुलिखेल | अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । 

सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो । 

स्थानीय बासिन्दा राधा ठकुरीले सडक बेलैमा मर्मत कार्य सम्पन्न नगर्दा यहाँ चलेको सवारीसाधनको धुलोबाट हैरानी ब्यहोर्नु परेको बताउनुभयो । “सडक कहिल्यै बनाउँदैनन्, लुगा धोएर सुकायो भने सबै धुलोले छपक्कै ढाकिदिन्छ ।” 

समयमा नै काम सम्पन्न नहुँदा आफूहरूले निकै समस्या ब्यहोरिरहेको मोटरसाइकल चालक रेशम लामाले बताउनुभयो । उहाँले सरकार र ठेकेदारबीच मिलेर छिट्टै काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै आफूहरू सोही बाटो हिँड्दा बर्सादी ओढेर हिँड्नु परेको गुनासो गर्नुभयो । 

अर्का सवारी चालक सिन्धुपाल्चोक मेलम्चीका इन्द्रबहादुर थापाले सोही बाटो भएर कैयौँ बिरामी ओसारपसार गर्नुपर्नेेदेखि गाउँगाउँबाट सोही बाटो आवतजावत गर्नुपर्ने भएकाले बाटो समयमा नै नबन्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले सरकारको लापरबाही भएको पाइएको उल्लेख गर्दै स्थानीय बासिन्दाले जागरुक भएर आवाज उठाउनुपर्ने बताउनुभयो । 

सो सडक खण्डअन्तर्गत धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर बाटो मर्मतको लागि द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनसँग संयुक्तरुपमा गत २०७३ जेठ २८ गते सम्झौता भएको थियो । जसमा खाबादेखि पाँचखालसम्मको ११ किलोमिटर सडक मर्मत भइसकेको भए पनि खाबादेखि धुलिखेलसम्मका सडक भने अझै काम सम्पन्न नगरिदिँदा यात्रु तथा स्थानीय बासिन्दाले समस्या खेप्नुपरेको हो । 

भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले धुलिखेलदेखि खाबासम्मको सडक मर्मतका लागि पुनःनिर्माण प्राधिकरणले समयमा नै उपलब्ध गराउनु पर्ने रकम निकासा नगरिदिँदा ठेकेदार कम्पनीले काम नगरिदिएको बताउनुभयो ।  

सो राजमार्ग भएर दैनिक पाँच हजारको हाराहारीमा सवारीसाधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोही राजमार्ग भएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लामा सवारीसाधन चल्ने गरेको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!