कालिकोटका सबै स्थानीय तहका प्राथमिकतामा सडक र विद्युत

Posted on: 06 Mar, 2018

फागुन २२, कालिकोट | यहाँका ९ वटै स्थानीय तहले सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुले सडक र विद्युत सेवा गाँउगाँउमा नभई अन्य विकासका सम्भावनाहरु उजागर गर्न नसकिने भन्दै आफ्नो कार्यकालको पहिलो बर्ष सडक र विद्युतलाई पहिलो प्राथमिकता दिएका हुन् ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलेस्थानीय उत्पादनहरुको बजारीकरण तथा रोजगारी सिर्जना गर्न सडकलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले चालु आर्थिक बर्षमा गाउँपालिकाको कुल बजेट २२ करोड मध्ये झण्डै पाँच करोड बजेट सडक निर्माणमा खर्च गरिने जानकारी दिए । ‘गाउँमा गाडी र बिजुली भएपछि विकासको मुल फुटाउन सकिन्छ’ उनले भने, ‘यस बर्ष गाँउपालिकाका सवै वडाहरुमा सडक सञ्जाल बिस्तार गर्नका लागि बजेट बिनियोजन गरी काम भईरहेको छ ।’ उनले गाँउपालिका सबै वडाहरुमा विद्युत सेवा सञ्चालन गर्न दाम्री खोला साना जलविद्युत आयोजना र दुर्सी साना जलद्यिुत आयोजना निर्माण प्रक्रियामा रहेको बताए ।

तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले आफुले बढीमा २ बर्षभित्र नगरपालिकाका ११ वटै वडाहरुमा सडक सञ्जालले जोड्ने गरी सडक निर्माणको कामलाई गति दिएको बताए । उनले यस बर्ष नगरपालिकाबाट झण्डै साढे पाँच करोड सडक निर्माणमा बजेट विनियोजन गरी काम थालिएको बताए । उनले तिलागुफा नगरपालिका प्राकृतिक रुपमा बरदान पाएको, जल, जंगल र जडीबुटी तथा नगदे बालीको प्रचूर सम्भावनाहरु भएको बताउँदै सडक र विद्युत सेवा नगरमा नहुँदा उपयोगविहीन भएको उनको भनाई छ ।


कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले आफुने गाउँपालिकाका तीन वटा ठाँउबाट डोजर लगाएर सडक निर्माणको कामलाई तीब्रता दिएको बताए । उनले कालिका गाउँपालिका भौगोलिक रुपमा निकै कठिन भएकाले कामदारबाट सडक निर्माण गर्न ढिलाई हुने भएकाले आफुले डोजर लगाउनु परेको बताए । उनले आफ्नो गाउँपालिकाले यस बर्ष सडकमा मात्र ५ करोड २५ लाख बजेट बिनियोजन गरिएको जानकारी दिए ।

विद्युत सेवा बिस्तारका लागि पनि तीन वटा साना योजनाहरुमा ६० लाख बजेट बिनियोजन गरिएको उनले बताए । कालिका गाउँपालिकामै निर्माण हुन लागेको तीला १ र तीला २ हाईड्रो निर्माण भएपछि गाँउपालिकाको आर्थिक विकासमा ठुलो फड्को मार्ने उनको विश्वास छ । नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले यस बर्ष गाउँपालिकाले झण्डै ८ करोड बजेड सडकमा मात्र बिनियोजन गरेको बताए ।

छुट्टाछुट्टै तीन ठाँउबाट सडकलाई जोडेर आफ्नो कार्यकालभित्र सबै वडाहरुमा गाडी गुडाउने लक्ष्य राखेको उनको भनाई छ ।  जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउपालिका र शान्नित्रिवेणी गाउँपालिका र महाबै गाउँपालिकाले पनि पाँच करोड भन्दा बढी बजेट सडक निर्माणमै बिनियोजन गरेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!