करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

Posted on: 09 Mar, 2018

रमेश लम्साल/फागुन २५, पाँचथर | लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो । 

केही समयभित्रै करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइनको अभावमा समस्या उत्पन्न भएकाले प्रधिकरणले चासो व्यक्त गरेको हो । उक्त करिडोरको पहिलो खण्डको काम सकिए पनि दोस्रो र तेस्रो खण्डको काम अगाडि बढ्न सकेको छैन । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म कूल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनको थ्री थुम्का गोदक र गोदक अमरपुर खण्डको काम रोकिँदै आएको छ । 

प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग र मुआब्जा वितरणमा स्थानीयवासीले अवरुद्ध गरेपछि आयोजना रोकिँदै आएको हो । जिल्लास्थित सरकारी अधिकारीसँग गरेको छलफलपछि आयोजनाको काम अगाडि बढ्ने विश्वास प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना तत्काल अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई आग्रह गर्नुभयो । 

कार्यकारी निर्देशकको आग्रहपछि अधिकारीले आफ्नो तर्फबाट सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सम्पन्न गर्न सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले स्थानीय प्रशासन र स्थानीयवासीले सहयोग गरे आयोजना तोकिएकै समयमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण व्यवसायी ज्यागुर एण्ड स्टर जेभीले तोकिएको समयमा काम नगर्दा आयोजनाको म्याद दुई पटक थपिसकेको छ । आयोजनाको कूल लागत रु तीन अर्ब ५८ करोड रहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!