रामेछापको पकरवासमा प्राधिकरणले अनावश्यक स्थानमा विद्‍धुत पोल वितरण गरेको गुनासो

Posted on: 10 Mar, 2018


 कैलाश खत्री । फागुन २६,रामेछाप ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ पकरवास गाउँमा विद्युत प्राधिकरणले जथाभावी पोल बितरण गरेको स्थानीय जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । वडा नम्बर ५ पकरवासका वडा अध्यक्ष तुलसीदाश श्रेष्ठले विद्युत प्राधिकरणले अत्यावश्यक ठाउँमा वितरण नगरी अनावश्यक ठाउँमा विद्युत पोल बितरण गरेको आरोप लगाए ।

यसका बारेमा विद्युत प्राधिकरणसँग कुरा गरिएको भए पनि आफुहरुसंग समन्वयनै नगरी विद्युत प्राधिकरणले पोल बितरण गरिरहेको उनको भनाई छ । आफ्नो वडामा आवश्यकताको पहिचान गरि पटक पटक जानकारी गराउदा पनि विद्युत प्राधिकरणले ध्यान नदिएको वडा सदस्य धर्म खत्रीले बताए ।

यता नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा रामेछापका प्रमुख बिनोद अधिकारीले भने स्थानीय जनप्रतिनिधिसंग आवश्यक समन्वय गरी पोल पठाइएको दावि गरे । उनले पकरवासमा काठको जिर्ण भएको विद्युत पोल परिवर्तनका लागि २ सय भन्दा बढि फलामका पोल पठाइएको बताए ।

केहि ठाउँमा प्राधिकरणले भनेको भन्दा फरक ठाउँमा ठेकेदारले पोल लगेको भन्ने गुनासो आफुकहाँ आएकाले त्यसको अनुगमन गरी पहिलाकै ठाउँमा पोल गाडिने प्राधिकरण प्रमुख अधिकारीको भनाई छ । पकरवासमा काठका विद्युत पोल जिर्ण भएका भन्दै विद्युत प्राधिकरण रामेछापले ८५ लाख रुपँैया विद्युत पोल खरिदका लागि रकम छ्ट्याएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!