पुरा भएन ‘चिलगाडि’ चढ्ने सपना, विमानस्थल परीक्षण उडानमै सीमित

Posted on: 16 Mar, 2018

चैत २, कालिकोट | एक बर्ष अघि माघ २९ गते कालिकोटको एक मात्र सुनथराली विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा खुसियाली जहाज चढ्ने धोको पुरा हुने सपना बोकेका कालीकोटबासीको सपना अझै पूरा हुन सकेको छैन । तीन दशक लामो समयदेखि निर्माणाधीन सुनथराली विमान स्थलमा परिक्षण उडान भए पछि यहाँका स्थानीयले जहाज चढ्ने धोको पुरा हुने सपना देखेका थिए ।

बर्षौंसम्म जहाज चढ्न त के, नजिकबाट देख्न समेत नपाएका उनीहरूले आँगनबाटै चीलगाडी चड्न पाइने सपना बुने पनि नियमित उडान नहुँदा अहिले निरास बनेका हुन् । झण्डै ३१ वर्ष निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघ महिनामा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो ।

परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । तर परीक्षण उडानले हर्षित बनेका स्थानीयले त्यसपछि भने आँगनमा जहाज नै देख्न पाएका छैनन् । ‘पोहोर माघको महिना चीलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’ कोटवाडाकी मृगा विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुशी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चीलगाडी फर्केरै आएनन् ।’ उनले अचेल जहाज आकाशमा मात्र उडेको देख्ने गरेको बताईन् ।

तस्बिरः २०७३ माघ २९ गते परीक्षण उडानमा आएको जहाज हेर्दै स्थानीय ।

सुनथराली विमानस्थलमा नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । एक वर्ष पुग्दा पनि जहाज नआएको भन्दै स्थानीय गणेशकुमार विष्टले आफूहरूमाथि अन्याय भएको बताए । यो विमानस्थल निर्माणका क्रममा १६ वर्षअघि ३६ जना कामदारको एउटै चिहान भयो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोप सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाए । उनीहरू सबैको चिहानमाथि यो विमानस्थल बनेको छ ।

कर्णालीका पाँच जिल्ला मध्ये कालिकोट बाहेक अन्य जिल्लाका विमानस्थल सञ्चालनमा छन् । तर कालिकोटमा भने एकमात्र सुनथराली विमानस्थल लामो प्रयासपछि निर्माण गरिएको छ । यद्यपि यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । करिब ३१ वर्ष लगाएर निर्माण भएको यो विमानस्थलमा हालसम्म २६ करोड रूपैयाँ खर्च भएको छ । देशमा चलेको शसस्त्र युद्धका कारण निर्माणको काममा ढिलाइ भएको थियो ।

लामो प्रयासपछि निर्माण गरिएको विमानस्थलमा हालसम्म २६ करोड रकम खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । समयमै काम सम्पन्न गर्न तत्कालीन पर्यटनमन्त्री शाहीले पटक–पटक अनुगमन र छड्के गरेका थिए । कोडवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाइ सेवा एक मात्र भरपर्दो विकल्प हो । तर स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीय नागरिकहरुले माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!