कर्णालीलाई लगानीमैत्री वातावरण बनाउन पर्यटन व्यवसायीको आग्रह

Posted on: 20 Mar, 2018

चैत ६, सुर्खेत | पर्यटन व्यवसायीहरुले कर्णाली अबको निर्विकल्प पर्यटन गन्तव्य भएकोले आफुहरु  कर्णाली प्रदेशमा लगानी गर्न इच्छुक भएको बताएका छन् । होटल एसोसियसन नेपालले सोमबार कर्णाली प्रदेश सरकारका मन्त्रीहरुसँग भेटघाट गरी पर्यटनका लागि कर्णाली  प्रदेशमा गर्न सकिने काम र आफ्नो दक्षता बारेमा जानकारी दिँदै लगानी गर्न इच्छा जनाएका हुन् ।

पर्यटन क्षेत्रमामा आवद्ध  नाटा, टान, हान,  नेपाल पर्यटन वोर्ड र अन्य पर्यटन व्यवसायीसँग भएको छलफलमा व्यवसाय सञ्चालमा सवैभन्दा कठिनकाम भनेको जग्गाको उपलव्धता र सुरक्षा भएकाले सरकारले जग्गा र सुरक्षाको वातावरण बनाउन सके आफुहरु छिटो भन्दा छिटो कर्णाली आउन चाहेको हानका अध्यक्षले बताए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सरकारले व्यवसायमैत्री नीति लिने भएकाले सरोकारवालालाई छिटो भन्दा छिटो कर्णाली प्रदेशमा जाने सोच बनाउन निर्देशन दिए । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले व्यवसायीको सक्रिय सहभागिता बिना सरकार एक्लैले पर्यटनमा खासै सुधार ल्याउन नसक्ने भएकाले आफु व्यवसायीलाई निम्तो दिन आएको जानकारी गराए ।

त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले विविधताले भरीपूर्ण कर्णालीको विकासको लागि व्यवसायिक वातावरण बनाउन प्रदेश सरकार तयार रहेकाले विश्व पर्यटन बजारका साझेदारलाई कर्णालीका बारे जानकारी दिन नेपालका व्यवसायीहरु जुट्नु पर्नेमा जोडदिए । पर्यटनसंग व्यवसायसंग सम्वन्धित विभिन्न १५ भन्दा बढी संघ संस्थाका प्रतिनिधीहरुले प्रदशे सरकारका मन्त्रीहरुलाई भेटी कर्णाली सरकारले मनाउन लागेको रारा कर्णाली भ्रमण वर्ष २०७५ को अवधारणा प्रस्तुत् गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!