सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

Posted on: 20 Mar, 2018

चैत ६ चौतारा | निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । 

निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताउनुभयो । 

चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत रु तीन अर्ब रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै रु चार अर्ब पुगेको छ । 

विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पुर्याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ । 

साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्वारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्वारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 

उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । रु ६ अर्बको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!