भेरी बबई डाइभर्सनमा लक्ष्यभन्दा ५ गुणा बढी काम

Posted on: 21 Mar, 2018

चैत ७, सुर्खेत | देशका अधिकांश निर्माणाधीन आयोजनाको प्रगति सन्तोषजनक छैन । अहिले पनि विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेको छैन ।तर, भेरी बबई डाइभर्सन आयोजना भने अपवाद बनेको छ । आयोजनाले एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च गर्दैछ ।

सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा भेरी बबई डाइभर्सनका लागि ८८ करोड ८० लाख ९२ हजार छुट्टाएको थियो । तर, त्यो रकम अपर्याप्त भएको छ ।अहिलेसम्ममा १ अर्ब ६५ करोड खर्च भइसकेको छ । माघ महिनामा मात्रै अर्थ मन्त्रालयले आयोजनालाई १ अर्ब रकम निकासा गरेको थियो । तर, रकम अपुग भएपछि थप २ अर्ब ९६ करोड अर्थ मन्त्रालयसँग माग गरिएको छ ।

आयोजना प्रमुख शिवकुमार बस्नेत भन्छन्, ‘आयोजनाको काम द्रुत गतिमा अघि बढेकाले थप रकमको आवश्यकता परेको हो ।’चीनबाट ल्याएको टनेल बोडिङ मेसिन (टिबीएम)ले कात्तिक तेस्रो सातादेखि सुरुङ खन्न थालेपछि आयोजनाले गति लिएको छ । टिबीएम मेसिनले अहिलेसम्म २५ सय ५० मिटर सुरुङ खनेको छ ।आयोजनाका लागि १२ किलोमिटर  सुरुङ खन्नुपर्छ । त्यसमध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ  अहिले काम भइरहेको छ । टिबीएम मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्ने छ ।

अर्थ मन्त्रालयको बजेट अर्ध वार्षिक समिक्षामा पनि यो आयोजनाले उल्लेख्य रुपमा प्रगति गरेको उल्लेख छ । आयोजनाको काम तीव्र गतिमा अघि बढेकाले थप रकम आवश्यक देखिएको बजेट समिक्षा रिपोर्टमा उल्लेख छ ।१६ अर्ब ४३ करोड लागत आंकलन गरिएको आयोजना निर्माण भएपछि बाँ केको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुनेछ । साथै ४८ मेगावाटको जलविद्युत गृह पनि बनाइनेछ । अहिले डिजाइन पुनरावलोकन भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!