सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा किसानद्वारा ताला

Posted on: 24 Mar, 2018

चैत १०, सर्लाही | सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा उखु किसानले ताला लगाएका छन् । उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् ।

उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किसानलाई उखुको भुक्तानी दिएको छैन । पटक पटक ध्यानाकर्षण गराउँदा समेत उखुको भुक्तानी नदिएको भन्दै भुक्तानीको माग गर्दै उखु किसानले चैत्र २ गते उद्योगको मूल गेटमा कालो भण्डा गाडेर विरोध गरेका थिए ।

त्यस पछि चैैत्र ५ गते बाट उद्योगको मूल गेटमै पाल टाँगेर रिले अनसन थालेका उनीहरुले रिले अनसनलाई जारी राख्दै शुक्रवार उद्योगको मूल गेटमै ताला लगाई प्रशासनीक कार्य ठप्प पारेका किसान नेता एवं नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो ।


उद्योगले चैत्र ८ गते पत्र पठाएर उखु किसानलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । उद्योगले पाकिस्तान लगायत अन्य मुलुकबाट आएको चिनीको कारण आफुहरुले उत्पादन गरेको चिनी विक्री नभएकोले आफुहरुले त्यस्ता चिनीमा भन्सार बढाउन पहल भई रहेको जानकारी गराउँदै किसानलाई आन्दोलनका सवै कार्यक्रम फिर्ता लिन भनेको हो ।

तर भुक्तानको स्पष्ट मिति उल्लेख नभएकोले आफुहरुले आन्दोलनलाई जारी राखेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार यस सिजनका लागि उखु क्रसिङ्गको समय सकिन लागि सकेको छ ।

किसानले उद्योगलाई उखु बुझाएको साँढे ३ महिना भई सक्यो तर अझै पनि किसानले उखुको भुक्तानी पाएका छैनन्, किसानले अब भोक भोकै वस्नु पर्ने अवस्था आई सकेको छ, अध्यक्ष बुढाथोकीले भन्नु भयो । उखुको भुक्तानी त छँदैछ उद्योगकका कारण हरिवन वजार क्षेत्रमा फैलिएको धुलो, धुँवा र दुर्गन्ध समेत उद्योगले नै नियन्त्रण गर्नु पर्ने महिला नेतृ संचिता घिमिरेले बताउनु भयो ।

उनीहरुले चैत्र १० गते उद्योगको मूल गेटबाट जुलुस समेत निकाल्ने भएका छन् । साथै उनीहरुले शनिवार नै आमरण अनसन थाल्ने समेत बताएका छन् । यता हरिवन नगरपालिकाका जनप्रतिनिधीहरुले पनि देशकै एउटा ठुलो उद्योगले विभिन्न बाहानामा किसानको उखुको भुक्तानी रोक्न नहुने बताउँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!