रामेछाप र अाेखलढुङ्गा जोड्ने सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल

Posted on: 25 Mar, 2018

                                                                                १ वर्षमा पुल सञ्चालन गर्ने सहमति

पूर्णप्रसाद न्यौपाने । चैत्र ११, काठमाण्डौ ।

ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माणको काम तिव्र बनाउने सहमति भएको छ । ओखलढुंगाका सांसद यज्ञराज सुनुवारको पहलमा काठमाडौंमा बसेको सम्बन्धित पक्षसँगको छलफलमा आगामी १ वर्ष भित्रै निर्माण सम्पन्न गरिसक्ने गरि काम अघि बढाउने सहमति भएको हो । छलफलमा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार,प्रदेशसभा सदस्य मोहन खड्का,सडक विभागका प्रतिनिधि,इन्जिनियर र निर्माण व्यवसायी सहितका सरोकारवालाहरु सहभागी थिए । छलफलमा २०७५ साल भित्रैमा सिरीसे पुल निर्माणको सबै काम सक्ने र २०७६ वैशाखबाट पुल सञ्चालनमा ल्याउने सहमति गरेर सम्बन्धित निर्माण व्यवसायीले प्रतिवद्दता जनाएको सांसद सुनुवारले बताउनुभयो । `कामको ठेक्का लिएको ओमबुद्द कन्ट्रक्सनले काम नगरेर समस्या भएको हो, अब बाँकी काम कन्काइ इन्टरनेशनल विल्डर्सले गर्नेछ´सुनुवारले भन्नुभयो`कुनै पनि बहाना चल्नेवाला छैन,समयमा काम सम्पन्न गराउन सबैपक्ष लागि पर्ने सहमति भएको छ,सोही अनुसार काम अघि बढाइनेछ´ सरोकारवालाको भेलाले कार्य योजना नै बनाएर काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।


सिरीसे पुल गत निर्वाचनमा दलहरुको चुनावी भाषणको विषय बनेको थियो । निर्वाचित भए लगत्तै सिरीसेमा आयोजित एक कार्यक्रममा ओखलढुंगा र रामेछापका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले तत्काल काम अघि बढाएर समयमै पुल निर्माण सम्पन्न गराउने प्रतिवद्धता जनाएका थिए । सपथ ग्रहण नगर्दै देखि दबाबमूलक शैलीमा प्रस्तुत भएका सांसदहरुको पहलमा पुल निर्माणको कामले गति लिने भएको हो ।


दुई वर्षमा पुल निर्माण सक्ने गरि सम्झौता गरेर २०६८ सालमा काम सुरु गरिएको सिरीसे पुल निर्माणको काम आधा पनि भएको छैन ।निर्माण सुरु भएको ६ वर्षमा पुलको जग मात्रै उठेको छ । स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडकको निर्माणको प्रारम्भिक चरणको काम पनि बाँकी नै छ । निर्माण कार्यमा ढिलाइ भएपछि ओखलढुंगाका नागरिक बेचैन छन् । २ वर्षमा काम सक्नेगरि ६० मिटर लामो उक्त पुल बनाउन कन्काइ ओमबुद्ध जेभि नामको कम्पनीसँग २०६८ सालमा ५ करोड ८६ लाखमा सम्झौता भएको थियो । काम अघि नबढेपनि कमिसनको चक्करमा सरकारले सम्झौता भने थपिरहेको स्थानीयको आरोप छ । रामेछाप र ओखलढुंगाको सीमामा पर्ने लिखुनदीमा निर्माणाधिन पुल अधुरो भएपछि ओखलढुंगाका नागरिक सास्ती बेहोर्न बाध्य छन् ।

हिउँदमा लिखुमा हेलिएर बस ओखलढुंगाकाे पश्चिमी गाउँहरु सम्म पुग्छ । बस चढ्न बानी लागेका स्थानीय त्यही पुल नहुँदा वर्षायाममा रामेछापको धोवीसम्म पैदल हिड्न गर्न बाध्य हुन्छन् । बिरामी अस्पतालसम्म लैजान, बालबालिका र वृद्धवृद्धाको ओहोर दोहोरको पीडा सुनिसक्नुको छैन । ढुवानी समस्याले भूकम्प पछिको पुननिर्माण र विकास निर्माणका काम समेत त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!