आज बिहान ८ बजे रारा तालबाट प्रम ओलीको सम्वोधन, आजैदेखि 'कर्णाली-रारा पर्यटन वर्ष-२०७५' सुरु

Posted on: 14 Apr, 2018

वैशाख १, सुर्खेत | बैशाख १ अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन । नयाँ वर्षलाई स्वागत गर्न यतिबेला मुलुकका विभिन्न स्थानबाट पर्यटकहरु राराको आँगनमा छन् । प्रधानमन्त्रीदेखि सर्वसाधारणहरु नयाँ वर्ष मनाउन रारा आइसकेका छन् । मुलुककै अति विशिष्ट पाहुनाहरु रारा रमाइरहेका छन् । पर्यटकीय विकासमार्फत् सम्मृद्धि हाँसिल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको आयोजनामा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शनिबार (आज) प्रधानमन्त्री केपी शर्माले ओलीले घोषणा गर्दैछन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देशका साथै देशबासीका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा रारा पुगेका छन्। पर्यटन वर्ष उद्घाटनको तयारी पुरा भएको छ।

पर्यटकहरुको स्वागतमा रारा बेहुलीझैं सिंगारिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनाल, प्रदेश मन्त्रीहरु, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणहरु रारा आइसकेका छन् । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले स्वागतद्वार, मञ्च, अतिथि व्यवस्थापन लगायतका सबै तयारीहरु पुरा भइसकेको जानकारी दिए । प्रदेश सरकारको निमन्त्रणमा यहाँ आउने आगन्तुकहरुलाई आवासका लागि टेन्टको व्यवस्था गरिएको छ ।

तश्विरमा राराको शुन्दरता | तश्विर: दान बहादुर बुढा / साझा सबाल (मुगु)

पर्याप्त होटल नहुँदा करिब डेढ सय टेन्ट बनाइएको छ। ‘पर्यटन वर्षकै सुरु दिनमा पाहुनालाई खाना, बस्नको दुःख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ’ मन्त्री बुढाले भने, ‘पर्यटकका लागि सहज रुपमा रारा आउन आवश्यक पूर्वाधारको तीव्र गतिले विकास गर्नेछौं।पर्यटकलाई रारा आउँ–आउँ लाग्ने गरी पूर्वाधार विकासमा जोड दिँदैछौं।’प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना, आवास व्यवस्थापनको जिम्मा लिएको छ। प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ।

सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा राखिएको छ। जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्षले राराको मात्रै नभई सिंगै मुगुको विकासमा टेवा पुग्ने बताए। ‘पर्यटकलाई स्थल र हवाईमार्गबाट सहज रुपले रारा ल्याउन समस्या छ’ अब सरकारले यातायात पूर्वाधारको विकासमा ध्यान देओस्’ उनले भने, ‘निकुञ्जले पनि होटल व्यवसाय सञ्चालनमा मद्दत पुग्ने गरी सहजीकरण गरिदिनुपर्छ।’

त्यस्तै, पर्यटकको सुविधाका लागि वल्डलिङ्कले इन्टरनेट सेवा उपलब्ध गराएको छ । पाहुनाको स्वागतका लागि मुगुको स्थानीय झाँकी देखाउनुका साथै देउडा, रत्यौली प्रस्तुत गरियो । ताल परिसर घुम्नेहरुका लागि घोडाको व्यवस्था पनि मिलाइएको छ । रारामा आवश्यक सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित छन् । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली समृद्धिको आधारः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका अवलोकनमा जानेछन् । ११ बजे पुनः रारा फर्केर प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यक्रम छ । १२ बजे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को घोषणा गरेर दिउँसो २ बजे जुम्ला प्रस्थान गर्नेछन्। जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ। प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ। जस अन्तर्गत बालबालिकालाई स्कूलमा भर्ना गर्नेछन्।

रारा किनारमा क्याविनेट


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार साँझ कर्णाली प्रदेश मन्त्रीपरिषदको बैठक बस्यो । बैठकले कोहल्पुर सुर्खेत हिल्सा सडकलाई प्रधानमन्त्री पर्यटन लोकमार्ग निर्माण गर्ने, कर्णाली एकीकृत नमुना बस्ती निर्माण गर्ने, सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने, कर्णालीका उत्तर नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाक्चेनाग्ला, र डोल्पा नाकालाई खोल्न पहल गर्ने, राराको पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ। बैठकलगत्तै निर्णयहरु प्रधानमन्त्रीलाई जानकारी गराइयो ।

प्रदेश मन्त्रीपरिषदका निर्णयहरु जानकारी पाएपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावनै सम्भावनाको प्रदेश भएको बताए। ‘प्रशस्त जडीबुटी छन्। खानी, जलस्रोतको अथाह भण्डार छ उनले कर्णाली सरकारका मन्त्रीहरुलाई सम्बोधन गर्दै भने, तपाईंहरुले जे जे माग राख्नुभएको ती मागमा केन्द्र सरकार सकारात्मक छ।’ उनले नयाँ ढंगले काम गर्न र, नयाँ ढंगले योजना बनाउन निर्देशन दिए ।

पचालझरना महोत्सव पनि आजैबाट सुरु हुँदै 

पचालझरना गाउँपालिकामा आजदेखि बृहत् सास्कृति पर्यटन महोत्सव २०७५ सुरु हुने भएको छ । आजदेखि ५ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक पचालझरना गाउँपालिकाले जानकारी दिएको छ ।

‘हाम्रो गौरव हाम्रो स्वाभिमान, पचालझरना हाम्रो पहिचान, शुसासन विकास र समृद्धि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुने ‘बृहत पचालझरना व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७५’ का लागि सम्पूर्ण तयारी पुरा भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए । महोत्सवका लागि मञ्च निर्माण, बाल उद्यान निर्माण, स्टल निर्माण, स्वागत गेट निर्माणसँगै सम्पूर्ण पूर्वाधार निर्माण भएको छ ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ । महोत्सवका लागि विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ । ५ दिनसम्म चल्ने उक्त महोत्सवमा कालिकोट जिल्ला लगायतका बाजुरा, अछाम, दैलेख र जुम्लाका स्थानीय नागरिकले समेत महोत्सवको अवलोकन गर्ने छन् । महोत्सवको अवधिभर करिब ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!