हुम्लाका विपन्न महिला आर्थिक सुधारमा बढ्दै

Posted on: 16 Apr, 2018

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | हुम्लाका विपन्न महिला कुनै न कुनै स्वरोजगार र व्यवसाय गर्दै आर्थिक सुधारमा लागेका छन् । आम्दानी सुधारको लागि आफुसँग रकम नहुँदा केही गर्नको लागि नसकिरहेका महिलालाई तालिम र रकम बिउ पुँजीको माध्यमबाट पाउँदा आय आर्जनमा लागेका छन् । 

गाउँघरमा केही व्यवसाय र रोजगारीको काम गर्न सकुन् र आर्थिक स्तर वृद्धी होस् भन्नको लागि सामुदायिक विकास कार्यक्रम, हुम्लाले विउ पुँजी वितरण गर्दा महिलालाई सहज भएको हो । सिमकोट, नाम्खा, चंखेली र अदानचुली गाउँपालिकाका रहेक वडाहरुमा गठित नागरिक सचेतना केन्द्रका सदस्यलाई दोस्रो चरणमा परिपक्कता हासिल गरेका ७८ वटा नागरिक सचेतना केन्द्रमा आवद्घ अति विपन्न र गरिब महिलाहरुको जीविकोपार्जन सुधार गर्नका लागि वितरण गरिँदा महिलालाई आयआर्जनमा सहजता भएको छ । उपक्षेत्र विश्लेषणका आधारमा प्राथमिकतामा रहेका र जीविको पार्जनका लागि सम्भावना बोकेका विभिन्न व्यवसायहरु सञ्चालन गर्नका लागि बीउ पुँजीको रुपमा उक्त रकम वितरण गरिएको हो ।

हाल ८५ वटा नागरिक सचेतना केन्द्रका विपन्न र गरिब महिलाहरुको जीविको पार्जन सुधार कार्यक्रमका लागि प्रति नागरिक सचेतना केन्द्रलाई रु. १ लाखका दरले ८५ लाख रकम वितरण गरिएको थियो ।

जीविको पार्जन सुधार गर्न पहिलो चरणमा वितरित बीउ पुँजी अन्र्तगत खुद्रा पसल सञ्चालनको लागि ५८ वटा नागरिक सचेतना केन्द्रका ५०८ जना, बाख्रापालनको लागि ७ वटा नागरिक सचेतना केन्द्रका ३३ जना, २ वटा नागरिक सचेतना केन्द्रका ३४ जनाले संयुक्त रुपमा याक पालन गरेका छन् । त्यसै गरी कुखुरा पालनमा २९ जना, तरकारी खेतीमा २० जना र एउटा नागरिक सचेतना केन्द्रको २१ जना सदस्यले संयुक्त व्यवसायको रुपमा बंगुर पालन व्यवसाय गरि आफ्नो आर्थिक अवस्था तथा जीविको पार्जनमा सुधार गरीरहेका छन् । ७८ वटा नागरिक सचेतना केन्द्रका जम्मा ६४५ जना अति विपन्न महिलाहरुले साना साना व्यवसाय सञ्चालन गरी रहेका छन् । पहिला आफुले घरमा रुपैयाँ के हो त्यती राम्रोसँग उपभोग गर्न नपाएको भएता पनि हाल आफुले गरिरहेको व्यवसायबाट राम्रो आम्दानी गर्न सकेको र छोराछोरीलाई राम्रो लगाउन र मिठो खान दिन पाएकोमा हुम्लाका महिलाको मुहारमा खुसी छाएको छ । कुखुरापालन गर्दा एकै कुखुराबाट २ हजार देखी ३ हजार सम्मको दरमा विक्रि गर्दा कम्तीमा १ हजार ५ सय लगानी भन्दा बढी आम्दानी भइरहेको हिल्सा देवनागरिक सचेतना केन्द्रको सदस्य विन्दु बुढाले बताउनु भयो । आफुलाई ५२ हप्ता कक्षा सञ्चालन पश्चात छलफल गरी सा–साना व्यवसाय सञ्चालन गर्न छनौट गरेको व्यवसाय सुरुवात गरेका समेत बुढाले बताउनु भयो । छनैट भएको व्यवसायबाट कोष बृद्घि गर्दै जाने र केन्द्र आवद्घ सबै सदस्यहरुलाई पालै पालो गरी यो रकम परिचालन गरी जीविको पार्जन सुधार गर्ने लक्ष्य समेत रहेको समुहका महिलाको भनाई रहेको थियो ।

जीविको पार्जन सुधारका लागि घुम्ती कोषको मुख्य उदेश्य आवद्घ नागरिक सचेतना केन्द्रका सदस्यहरुको जीवनस्तर उकास्ने, अति आवश्यक मागहरु संम्बोधन गर्न सहयोग गर्ने, स्थानीय निकाय र समुदाय बीचको अन्तर सम्बन्ध बलियो पार्नुका साथै समुदायका अति गरिब तथा विपन्न वर्गको सार्वजानिक क्षेत्रबाट प्रवाह हुने सेवा र श्रोतमा पहुँच बढाउने रहेको छ । घुम्ती कोष वापत वितरित बीउ पुँजीको प्रभावकारी कार्यान्वयन तथा उपलब्धि मापनका लागि सम्बन्धित वडा कार्यालयका अध्यक्ष, सामुदायिक विकास कार्यक्रमका कर्मचारी र स्वयं नागरिक सचेतना केन्द्रका व्यवस्थापन समितिले संयुक्त रुपमा निर्मित संयन्त्रले गर्ने गरी व्यवस्था मिलाईएको छ । यो जीविको पार्जन सुधार कार्यक्रमका लागि यस जिल्लामा सामुदायिक विकास कार्यक्रम मार्फत १ करोड ६३ लाख रकम बीउ पुँजीको रुपमा वितरण गरिएको सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक राज बहादुर रोकायाले बताउनु भयो ।

वितरण भएको अनुदान रकमको सही सदुपयोग र पारदर्शी ढंगले कार्यान्वयनगर्न गराउनका लागि हाम्रो अथक प्रयास समेत गरिने रोकायाले बताउनु भयो । रकम वितरण गर्दा हामी वडा कार्यालयको सहभागिता र उत्तरदायी रहने गरी त्रिपक्षीय संम्झौता समेत गरिएको छ । यसबाट वडाका अति गरिब तथा विपन्न घरधुरीको जीवनस्तर उकास्नका लागि ठूलो भूमिका रहन चंखेली गाउँपालिका वडा नं. ३ का अध्यक्ष शालीग्राम ऐडीले बताउनु भयो ।


तश्विरमा: चंखेली गाउँपालिकाका महिला समुह आयआर्जनको लागि सामुहिक छलफलमा । फोटो: रेशमराज रोकाया/ सास, हुम्ला 

यस बिषयमा तपाइको प्रतिक्रिया...!