तीन घण्टाको बाटो तीस मिनेटमा छोटियो

Posted on: 18 Apr, 2018

सन्तोष गौतम | वैशाख ५, बाबियाचौर (रासस) | रघुगंगा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि तीन घण्टाका बाटो ३० मिनेटमा छोटिएको छ । 

बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भिर, जंगल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको हो । तीन घण्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिएको उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताउनुभयो । 

लामो पुलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । भौगोलिक विकटताका कारण छिमेकी वडा भुरुङ तातोपानी र हिस्तानको विद्यालयमा पढ्न जानुपर्ने बादुक र तिप्ल्याङ गाउँका बालबालिकाको बाध्यतासमेत हटेको छ । 

बादुक र तिप्ल्याङ गाउँका बासिन्दालाई बेग देउरालीस्थित वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा लिन र विद्यालयमा पढ्न जान आउन सहज भएको पुनले बताउनुभयो । विसं २०७३ भदौदेखि शुरु भएको पुल निर्माण कार्यले पूर्णता पाएपछि २०७५ वैशाखदेखि आवतजावतका लागि खुल्ला गरिएको छ । 

कूल ३६५.८ मिटर लामो यो झोलुङ्गे पुल सिङ्गल स्पान प्रविधिमा नेपालकै लामो भएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रविन महर्जनले बताउनुभयो । पुलबाट अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको बेग, हिस्तान, दोवा, भुरुङ तातोपानी, चिमखोला, दग्नाम, पिप्ले, भगवतीलगायत वडाका तीन हजार ५०० घरधुरी लाभान्वित भएका छन् । यो पुल १४८ मिटरभन्दा बढी अग्लो छ । 

जिल्ला समन्वय समितिअन्तर्गतको प्राविधिक कार्यालयले ठेक्कामार्फत रु दुई करोड ७९ लाख ९० हजारको लागतमा पुल निर्माण गरेको हो । पुल निर्माणको ठेक्का लिएको पोखराको मुक्तिनाथ श्री गीता जेभीले हस्तान्तरणको तयारी गरेको छ । टिबिएसयुले केबल र बुल्डअफ ग्रीपलगायतका निर्माण सामग्री उपलब्ध गराएको थियो । 

भुरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि हुँदै पर्यटकीयस्थल रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिनुका साथै रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । 

बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!