सुर्खेतको देउती बज्यै मन्दिरलाई व्यवस्थित गर्न महायज्ञ लगाईदै

Posted on: 18 Apr, 2018

वैशाख ५, सुर्खेत | सुर्खेतको चर्चित धार्मिकस्थल देउती बज्यै मन्दिरको व्यवस्थापन गर्न देउती बज्यै विराट धनधान्य महायज्ञ सञ्चालन हुने भएको छ । यही बैशाख ७ गतेदेखी देउती बज्यै मन्दिर परिसरमा महायज्ञ सञ्चालन गर्न तयारी पूरा भएको हो ।

देउती बज्यै परिसरलाई आगामी ५ वर्षभित्र व्यवस्थित बनाउने उदेश्यले महायज्ञको सञ्चालन गर्न लागिएको मुल आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । उनले पुराना सम्पदाहरु व्यवस्थित गर्दै नयाँ सोचका साथ मन्दिरहरुको पुनर्निमाण गर्न महायज्ञ सञ्चालन गर्न लागेको बताए ।

गुरुयोजना अनुसार मन्दिर परिसरमा स्नान गृह, आश्रम, बगैँचा, सफा शौचालय, कुण्ड, विश्रामस्थल, पानी  र थप केही मन्दिरहरु निर्माण गरिने छ । मन्दिर व्यवस्थापनको लागि करिब ५ लाख ३३ हजार रकम संकलन भएको छ भने विभिन्न व्यक्तिहरुले ८ लाख ८ हजार रकम प्रदान गर्ने प्रतिबद्घता समेत जनाएको गिरीले बताए । महायज्ञ सञ्चालनको लागी झन्डै १२ लाख खर्च लाग्ने अनुमान गिरीको छ ।

गुरुयोजना अनुसार निर्माण हुने देउतीबज्यै मन्दिरको सम्पुर्ण पुर्वाधार निर्माणको लागत ५ करोड लाग्ने अनुमान छ । धार्मिक एबम पर्टकीय स्थलका रुपमा रहेको गंगामाला देउती बज्यै मन्दिरमा अहिले गुरुयोजना अनुसार काम भईहरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले सरसफाई तथा अन्य काम निर्माणको काम श्रमदानमा गरिरहेको छन् । महायज्ञको उद्घाटन बैशाख ७ गते दिउँसो १ बजे कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गर्ने कार्य तालिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!