नेपाली प्रतिव्यक्ति ऋण बढ्यो, एकजनाको थाप्लोमा कति ?

Posted on: 23 Apr, 2018

वैशाख १० काठमाडौँ | नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । 

आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । 

आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३÷७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ । 

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!