कर्णाली बिकासका लागि तीन वटा नाका सञ्चालन, नीति तथा कार्यक्रम पारित

Posted on: 25 Apr, 2018

वैशाख १२, सुर्खेत | प्रदेश सरकारले पेश गरेको चालु आव २०७४/७५को नीति कार्यक्रमकाबारे सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्षिणवाट जमुनाहा–हिल्सा सुरुङ्ग मार्ग, उत्तरबाट डोल्पा, मुगु र हुम्लाबाट तीनवटा नाका खोलेर कर्णालीको बिकासलाई अगाडि वढाईने बताए । कर्णाली प्रदेशको भेरी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरवका आयोजनाको हवका रुपमा विकास गर्न संघीय सरकारसंग समन्वय अगाडि वढाईएको उनले जानकारी दिए ।

कर्णालीको पर्यटन प्रवद्र्धन गर्न र विश्वको ध्यान कर्णालीमा केन्द्रित गर्न सरकारले प्रधानमन्त्रीद्धारा कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरेको बताए । सुर्खेतमा मेडिकल कलेज स्थापना, जिल्ला अस्पताललाई ५० शैयामा स्तरवृद्धि र हरेक स्थानीय निकायमा १५ शैयाको अस्पताल स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी लक्ष्य रहेको जानकारी दिए । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारको मातहतमा ल्याउने र कर्णालीको लागि आवश्यक प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक शिक्षालय स्थापना गरिने मुख्यमन्त्री शाहीले बताए ।

बुधबार कर्णाली प्रदेश सभा बैठकमा बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले ल्याउको निती तथा कार्यक्रमले राजनीतिकरण मात्र गर्न खोजेको आरोप लगाए । नोपली काँग्रेस प्रतिपक्षमा रहेर पनि कर्णालीको समृद्धि र बिकासका लागि सहकार्य गर्न तयार रहेको भन्दै सरकारले प्रतिपक्षको भूमिका बुझ्न नसकेको बताए । उनले सरकारका निती तथा कार्यक्रमले थुप्रै आश्वासन बाँडेको भन्दै यसले कर्णालीको बिकासमा सहयोग गर्न नसक्ने बताए । ‘सपना देख्नु राम्रो हो तर सपना पनि फलदायी हुनु पर्छ’ उनले भने, ‘प्रहरी चौकी र स्वास्थ्य चौकी चलाउन नसक्ने सरकारले विश्वविद्यालय चलाउन सक्दैन ।’ उनले सरकारको सुरुवात नै खल्लो किसिमले भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।


विहीबारको बैठकमा बोल्दै सांसद गुलावजंग शाहले कर्णाली प्रदेश निर्माणको बेला सहिदहरुको सम्मान प्रदेश सरकारले गर्न नसकेको भन्दै सहिदलाई सम्मान गर्ने कार्यक्रम ल्याउन माग गरे । आम सञ्चार पहुँचमा हुन सके समृद्धिको सुरुवात हुने भन्दै उनले सञ्चारको बिषयमा निती तथा कार्यक्रमले समेट्नु पर्नेमा जोड दिए । करबीर शाही, कुर्मराज शाही, कृष्णा शाह, सुशिल थापा लगायतका सांसदहरुले कर्णालीको समृद्धिका लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ । कर्णाली  प्रदेशको चालु आर्थिक वर्ष ०७४/०७५ को बाँकी महिनाका लागि नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार संसदमा प्रस्तुत् गरेका थिए ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश सभामा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिए पछि प्रदेश सभाले बुधबार निती तथा कायक्रम पारित गरेको हो । मुख्यमन्त्रीको जवाफ पछि प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिवाट पारित गरेको छ ।

चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइएको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, पर्यटन र जलविद्युतको विकास गरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।  उज्यालो कर्णाली अभियानदेखि, सीप तथा श्रम स्कुल खोल्ने उल्लेख गरिएको छ । एक वर्षमा प्रदेशलाई सडक बालबलिकामुक्त प्रदेश बनाउने गरी अभियान संचालन गर्ने, हाई अल्टिच्युड एकेडेमी सम्बन्धी अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास र समृद्धिको गुरुयोजना बनाउनेदेखी अर्गानिक प्रदेश निर्माण गर्ने कार्यक्रम समेटेको छ । ११० जनतासँग मुख्यमन्त्रीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रमलाई अगाडि बढाईने छ । प्रदेशको प्रमुख आधार पर्यटन भएकाले पर्यटनको विकासका लागि गुरुयोजना तयार गर्ने, जनमैत्री शासन व्यवस्था गर्ने, भ्रष्टाचारलाई शुन्य सहनसिलताको नीति अवलम्बन गर्दै भ्रष्टाचाररहित प्रदेश बनाइने, मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयका कार्यक्रम अघि बढाउने नीतिहरु छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!