निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण शुरु

Posted on: 28 Apr, 2018

वैशाख १५, बाबियाचौर | मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । 

गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोटदेखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण शुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेउसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाध्यक्ष टंक पुनले जानकारी दिनुभयो । 

साढे चार फुट चौडाइ भएको ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको हो । त्रिपन्न घरधुरी उपभोक्ताले दुई दिनका दरले श्रमदान गरेका थिए । आगामी वर्ष थप ३९० मिटर पदमार्ग निर्माण गरेपछि तालसम्म जोडिने वडाध्यक्ष पुनले बताउनुभयो । पदमार्ग निर्माण भएपछि गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । 


निस्कोट गाउँदेखि करीब २० मिनेट उकालो हिँडेपछि पुगिने बराहतालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छलगायत १० वटा हिमाल देख्न सकिन्छ । साठी मिटर लम्बाइ, ४० मिटर चौडाइ र सात मिटर गहिराइ भएको तालमा हिमालको छायाँ निकै मनमोहक देखिन्छ । 

बराह तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

पदमार्ग निर्माण कार्यलाई पूर्णतासँगै तालमा सधैँभरि पानी भरिभराउ बनाउने र घेरबार गर्ने योजना बनाइएको छ । तालको महत्वका बारेमा प्रचारप्रसार गर्न उत्सवको आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष पुनले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!