रोल्पाको फगाम र हाम्जा जोड्ने पुल बनेपछि स्थानियहरु हर्षित

Posted on: 17 May, 2018

मनिषा राई/ज्येष्ठ ३, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिकामा विकासका कामहरु धमाधम भइरहेको छ । 


सुनछहरी गाउपालिका ६ का वडाअध्यक्ष अमरजित पुनमगर समुदायको विकासको लागि सक्रिय रुपमा लाग्नुभएको छ । उहा जनप्रतिनिधि भएसंगै गाउमा धेरै नै विकासका कामहरु भएको स्थानियहरुले बताएका छन् । यसैक्रममा आज सुनछहरी गाउपालिका ५ र ६ नं. वडामा फगाम र हाम्जा जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको छ जसको कारण स्थानियहरुको वर्षौदेखिको सपना पुरा भएको छ ।


सुनछहरी गाउपालिका वडा नं. ६ का वडाअध्यक्ष पुनमगरको पहलमा करिब २० लाखको लागतमा पुल निर्माण भएपछि त्यहाका स्थानियहरुलाई आवत जावतमा सहजता थपिएको छ भने घन्टौको यात्रा गर्नु पर्ने बाध्यता टरेको छ |

त्यस क्षेत्रमा हिउँदको समयमा त जसो तसो खोलो तरेर वार पार हुन्थ्यो, तर बर्षायाम सुरुभए पछि ५ मिनेटको बाटोलाई पनि घण्टौ लागाउनु पर्ने बाध्यता रहेको थियो । पुल निर्माणसंगै अब भने सबै समस्या दुर भएको छ । 

उक्त स्थानमा पुल नहुदा त्यस क्षेत्रका बिद्यार्थीहरुलाई अझ बढि समस्यामा पर्ने गरेको थिए ।

पुल निर्माणमा पहल गर्नुभएका ६ नं. वडाअध्यक्ष पुनले आफू जनताको स्वयम्सेवक भएकाले सधै जनताको दुख–सुख र भावनासँग जोडिने बताउनुभयो । हरेक सामाजिक कार्य एक्लैले गर्न नसकिने भएकाले समृद्ध फगाम मात्र नभई सुनछहरी गाउपालिकालाई नै समृद्ध बनाउनका लागि सबैको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

उहाले पुल निर्माण काम कुशलता पुर्वक सम्पन्न गराउन हरबखत खट्ने उपभोक्ता समिति लगाएतलाई धन्यबाद दिदै अन्य विकासका कामहरु पनि अन्तिम चरणमा पुगेको जानरकारी समेत दिनुभयो ।

आफनो गाउँको सेवा गर्ने भन्दै जनप्रतिनिधि बन्नु भएका वडाअध्यक्ष पुनले आफू निर्वा्चित भएदेखि अहिलेसम्म विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै गाउँमा बिस्तारै विकास निर्माणका काम सम्पन्न गराउनुभएको छ । वडाअध्यक्ष पुनमगरले जनताले आफुलाई जुन बिश्वासको आधारमा भोट दिएका छन् त्यो बिश्वासलाई खेर जान नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाले बिकास निर्माणका कार्यहरु गरेर जनताको सेवा सुबिधाको लागि दिनरात खट्ने समेत बताउनुभयो ।

उता गाउँका स्थानियहरुले निर्वाचनमा उम्मेदवारी दिँदा कलिलो उमेर व्यक्तिले विकास निर्माणमा के गर्न सक्लान र ? भन्ने लागेको भएता पनि अहिले गाउमा सोचे भन्दा पनि राम्रो नमुना योग्य काम गरेको प्रति खुशि व्यक्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!