तिब्बतियन चित्र र स्वीटर बुनाई तालिम सम्पन्न

Posted on: 23 May, 2018

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लामा काठको सामाग्रीमा पेन्टिङ्ग तालिम गर्दै सहभागिले मनग्ये आम्दानी गर्न थालेका छन् । एक टेबल, झ्याल र ढोकामा विभिन्न चित्र बनाउने तालिमको आधारभुत तालिम पछि यस्तो आम्दानी गर्न थालेका हुन् । सामुदायिक विकास कार्यक्रम हुम्लाले २५ दिन सम्म तालिम दिए पछि हाल हुम्लाका ११ जना युवाले यस्तो सीपमुलक तालिम प्राप्त गरी आम्दानी गर्न थालेका हुन् ।

हुम्लामा काठको सामाग्रीमा सुन्दर चित्र बनाएर घरमा सजाउने चलनको मागलाई ध्यानमा राखी यस्तो तालिम दिईएको हो । लामा समुदायको भान्सा कोठामा २ देखी ५ सम्म साना टेबुलमा यस्ता सुन्दर चित्र कुँदिएको टेबलमा भोजन गर्ने चलन रहेको छ । घरको शोभा बढाउने र घरको सम्पन्नता देखाउने यस्ता खालका बुट्टाको स्थिती र आकार अनुसारको पेन्टिङ्गको मुल्य निर्धारण हुने गरेको छ । स्थानिय स्तरमा १६ ईन्च लम्बाई र ११ ईन्च चौडाई भएको काठमा चित्र बनाउँदा २ हजार ५ सय देखी ३ हजार ५ सय सम्म कमाई हुने, चित्र बनाउनको लागि एकै दिनमा बनाउन सकिने हुनाले १ दिनमा औसतमा ३ हजार देखी माथि नै कमाई हुने गरेको प्रशिक्षक पेमाताम्छु लामाले बताउनु भयो । काठमा कुँदिएका बुट्टा हुम्लामा हाल निक्कै प्रचलनमा आएको छ । घरमा सजाउनको लागि प्रतिस्पर्धा नै गरी यस्ता खालका सामानलाई सजाउने होडबाजी नै हुने गरेको छ ।

जिल्लामा रहेका गुम्बाका झ्याल, ढोका र दिवारमा सुन्दर आकृती बनाएर हरेक वर्ष १० देखी १५ लाख सम्म कमाई हुने गरेको यस्तो चित्र चिनको तिब्बत क्षेत्रबाट बढी प्रभावित हुने गरेको छ । चित्र बनाउनको लागि पहिले पहिले भारतका विभिन्न शहरमा बौद्ध गुम्बामा गई सिक्नु परेको भएता पनि हाल हुम्लामा नै यस्तो खालको तालिम लिन पाउँदा सहज  भएको र आयआर्जनमा टेवा पुर्याएको प्रशिक्षक अंदुई लामाले बताउनु भयो । आफुले यो कला सिक्नको लागि २ वर्ष भारतमा गएर सिकेको भएता पनि हाल स्थानिय संघ संस्थाले हुम्लामा नै प्रशिक्षण दिँदा तालिमको प्रभावकारिता भएको लामाले बताउनु भयो । जिल्लाका सिमिकोट र नाम्खा गाउँपालिकाबाट प्रशिक्षार्थी सहभागि भएका थिए ।

तश्विरमा: चित्र बनाउने र स्वीटर बुन्ने तालिममा सहभागि प्रशिक्षार्थीहरु । फोटोः रेशमराज रोकाया

तालिमबाट सिकेको सीपलाई जीवन उपयोगी र आयआर्जनमा सहयोग होस् भन्ने हेतुले यस्ता खालका तालिम समय सापेक्ष हुने र भुगोल र माग अनुसारको तालिम दिँदा उपयोगी हुने सामुदायिक विकास कार्यक्रम हुम्लाका संयोजक राज बहादुर रोकायाले बताउनु भयो । तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले तालिमलाई व्यवसायिक बनाउन सकिएमा तालिमको औचित्यता हुने बताउनु भयो ।

त्यसैगरी अदानचुली, चंखेली, खार्पुनाथ, सिमिकोट र नाम्खा गाउँपालिकाका महिलालाई स्वीटर बुन्नको लागि समेत तालिम प्रदान गरिएको छ । महिलाले घरमा आफुलाई चाहिने सामान खरिद गर्न र गर्जौ टार्नको लागि सहज होस् भन्नको लागि तालिम दिईएको हो । जम्मा २० जना सहभागिलाई दिईएको तालिममा प्रति स्वीटर २ हजार देखी ३ हजार ५ सयको दरमा विक्रि गरी महिलाले आम्दानी गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । घरमा चाहिने नुन, तेलको समस्या स्वीटर, टोपी, मोजा बुनेर निकाल्न सकिनेमा तालिमका सहभागी ज्योती भण्डारीले बताउनु भयो । घरकोे समस्यालाई पुरुषले मात्रै होईन महिलाले सहयोग गर्ने यस्तो तालिम लिन पाएकोमा जसकला बोहोरा मख्खै देखिनु भएको थियो । मोबाईलमा रिचार्ज सकिँदा श्रीमानलाई रुपैयाँ माग्नु पर्ने झण्झट अब सकिएको उहाँको अनुभव रहेको छ । हुम्लामा महिलालाई यस्ता स्वावलम्बी हुने खालका तालिमले महिलालाई राम्रै प्रतिफल दिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!