खुलालुको पक्की पुल निर्माण सुरु

Posted on: 01 Jun, 2018

जेठ १८, कालिकोट | लामो समयदेखि अलपत्र परेको कर्णाली करिडोरअन्तर्गत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा पक्की पुल निर्माण कार्य सुरु भएको छ । ठेकेदारको लापरबाही र सडक डिभिजन कार्यालयको अनुगमन नहुँदा अलपत्र परेको निर्माणकार्य कन्काई नेपाल प्रगति जेभीले ठेक्का पाएपछि निर्माण सुरु गरेको हो ।

वि.सं २०६७ सालमा सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको हाल जुम्ला सडक डिभिजन कार्यालय कर्णालीलाई हस्तान्तरण गरिएको सो पुल सरकारी निकायको तालमेल नमिलेका कारण पुल निर्माणमा ढिला भएको थियो । झण्डै १३ करोडको लागतमा बन्न लागेको पुल आफूहरूले ठेक्का पाएपछि आर्थिक वर्ष ०७५÷७६ को जेठमै काम सक्ने कन्काई नेपाल प्रगति जेभीका प्रोजेक्ट म्यानेजर रामप्रसाद मैनालीले बताए । ‘पुल निर्माण गर्दा कडा चट्टान लागेका कारण निर्माण गर्न ढिलाइ हुने भएको छ’ उनले भने, ‘पुलको डिजाइन स्टिमेटभन्दा फरक चट्टान लागेका कारणले आगामी जेठमा निर्माण कार्य सकिने छ ।’

७४.८ मिटर लामो र ९ मिटर चौडाइ पुलको ३० प्रतिशत काम सकिएको मैनालीले बताए । ‘निर्माणको करिब ३० प्रतिशत काम सकिएको छ’ उनले भने, ‘यही गतिमा काम भए सोचेभन्दा चाँडो निर्माण हुनसक्छ ।’ पुल निर्माण कार्य अघि बढ्न नसक्दा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिब १ किमि चट्टाने भीर नेपाली सेनाले फोडेको थिएन ।

पुल निर्माणको काम सुरु भएपछि नेपाली सेनाले बाँकी रहेको सडकखण्डमा काम चाँडै नै सुरु गर्ने कर्णाली करिडोर नेपाली सेना निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए ।  ‘खुलालुदेखि लालीघाटसम्मको फोड्न बाँकी रहेको चट्टाने भीर चाँडै निर्माण गर्ने तयारी थालेका छौं,’ उनले भने, ‘यो भीर फोड्न केही समय लाग्दैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!