श्रीमतीको ७ तोला सुन धरौटी राखेर ६ किलोमिटर सडक

Posted on: 05 Jun, 2018

ललित सिंह | जेठ २२, बझाङ | जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् ।

विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाइ छ । 

कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाइ राख्न एकदमै गाह्रो हुन्थ्यो । अहिले सडक आउँदा गाउँका सर्वसाधारण गरीब जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत भएको बताए । 

“सडक निर्माण गर्दा धेरै दुःख पायाँै, जस्मा सात तोला सुन बैंकमा राखी डोजरको सम्झौता गरेका थियौं । अहिले विभिन्न निकायबाट करीब रु २९ लाख समितिमा आएको छ । यसमध्ये डोजर मालिकलाई दिनुपर्नेलगायत साहुबाट रु तीनका दरले ब्याजमा ऋण निकालेर अहिले रु ३४ लाखको भर्पाइ बनाइएको छ,” रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण समितिका सचिब रघुवीर सिंहले बताउनुभयो । 

सरकारले गर्न नसक्ने काम एक व्यक्तिले घरघडेरी धरौटी राखी सबै जनतालाई यातायातको सुविधा दिनुभएकोमा उहाँले धन्यवाद दिनुभयो । 

“शुरुवातमा विभिन्न व्यक्तिबाट रु २० लाख जम्मा भयो । स्थानीय तहबाट सबै गरी रु १८ लाख सहयोग प्राप्त भयो । अहिलेसम्म उधारो रु ४३ लाख तिर्न बाँकी छ । बल्लबल्ल अहिले धेरैपछि सफलताको एक बिन्दुमा पुगेका छौँ । अहिले यस क्षेत्रका जनताले यसै बाटोबाट सेवा सुविधा लिएका छन्,” तलकोटी राजा (रजवार) नारायण सिंहले बताउनुभयो । 

“कुनै पनि योजना सफल गर्नका लागि योजनाको यथार्थ बजेट नहुँदा समितिका दाजुभाइले दुःख पाएका छन् । अब जनता बाटोमा हिँडेका छन्, जनतालाई सुख छ,” उहाँले भन्नुभयो । 

जनताका लागि दुःख गर्नु राम्रो हो तर आफ्नै घरबार विजोग हुने गरी धेरै जोखिम उठाएर काम गरेकामा समितिलाई धन्यवाद, उहाँले भन्नुभयो । 

जिल्लामा सडक निर्माण कार्य धमाधम सरकारी लगानीमा भइरहेका छन् तर यस क्षेत्रका स्थानीयले केही वर्ष अगाडि सुन धरौटी राखी र एक व्यक्ति बराबर रु एक लाखदेखि चार लाखसम्म व्यक्तिगत लगानी गरेर छ किलोमिटर सडक निर्माण गरेका छन् । 

अहिलेसम्म रु ६४ लाखमा रुपातोलादेखि तलकोट खौला सडकखण्डमा खर्च गरेर निर्माण गरेका छन् । यस क्षेत्रमा पनि सरकारले गर्ने काम स्थानीय जनताले गरेका छन् । जनताका समस्यालाई ध्यान दिने सरकारको अनुभूति पाइयोस्, सिंहले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!