मुगुको सोरु गाउँपालिका सडक सञ्जालमा जोडियो

Posted on: 17 Jun, 2018

असार ३, मुगु | मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । 

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको जानकारी दिइएको हो । 

ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७० फागुण २२ गतेबाट गमगढी गिलाह धुलाचौर सडकको निमार्ण कार्य शुरु भएको थियो । शुक्रबार गमगढी गिलाह २३ किमीमध्ये १७ किमी सडकमा सवारी साधान परीक्षणको रूपमा सञ्चालन गरिएको थियो । 

उक्त गाउँपालिकामा सडक पुगेसँगै नगरपालिका र गाउँपालिका एकापसमा जोडिएका छन् । 

सडक जोडिएसँगै सोरुगाउँपालिकामा उत्पादन हुने मास, सिमी, जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज भएको गाउँपालिका प्रमुख लोगबहादुर शाहीले बताउनुभयो । 

नगरप्रमुख हरिजंग शाहीले जनताको सहभागितामा उपकरणबिना गुणस्तरयुक्त सडक बनाएकामा ग्रामीण पहुँच कार्यक्रमलाई धन्यवाद दिँदै आफ्नो नगर क्षेत्रमा आगामी वर्षबाट यही कार्यक्रमबमोजिम सडक निर्माण गर्ने बताउनुभयो । 

सडक निर्माणमा ७० समूहका एक हजार ५०० कामदार खटिएको र चार वर्षमा रु ३८ करोड खर्च भएको कार्यक्रमका प्रमुख मोहान रुवालीले बताउनुभयो । उहाँले यो परीक्षणमात्र भएकाले कच्चे गाउँको तल रहेको ५०० मिटर पहरा फोरेपछि दुई महिनामा गिलाहमा २३ किलोमिटरमा सडक पुग्ने र आगामी पुस महिनामा यो सडक सञ्चालनमा ल्याइने बताउनुभयो । 

मान्छेले काम गरेर गाडी गुड्ला भनेर आफूले नसोचेको सडक निर्माणमा सक्रिय निगाले गाउँकी कामदार जानसर खड्का बताउनुभयो । सडक बनाउँदा आफ्नो गाउँमा प्रायः सबै घरले कम्तीमा रु सात आठ लाख कमाएको बताउँदै गाडी पुगेपछि सदरमुकाममा तरकारी बेच्न सहज हुने उहाँले बताउनुभयो । यो गाउँमा जिल्लाकै नमूना तरकारीखेती हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!