एनएमबि बैंकको एफपिओ आजदेखि संस्थागत लगानीकर्तालाई पनि

Posted on: 17 Jun, 2018

असार ३,काठमाडौं । एनएमबि बैंकले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) सोमबारदे खि संस्थागत लगानीकर्तालाई समेत खुला गरिने भएको छ । सर्वसाधारणहरुले सबै सेयर खरिद नगर्ने देखिएपछि बैंकले संस्थागत लगानीकर्ताका लागि पनि सेयरमा आवेदन खुला गरेको हो । 

एफपिओमा हालसम्म धेरै लगानीकर्ताको आवेदन परेपनि अधिकांशले १० कित्ताका लागि मात्रै आवेदन दिएको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । सोमबारदेखि सामूहिक लगानी कोष, विभिन्न इन्भेष्टमेन्ट कम्पनी र बीमा कम्पनी लगायतका संस्थागत लगानीकर्ताले समेत आवेदन दिन पाउने भएपछि सबै एफपिओ विक्री हुने अपेक्षा गरिएको छ । आइतबार पनि सबै आवेदन नपरे निष्काशित एफपिओ बिक्री नभएसम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्ने बताइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!