तीन वर्षमै भेरी नदीको पानी उपत्यकामा, वर्षातमा कागजी प्रक्रिया, कार्तिकमा टेण्डर

Posted on: 05 Jul, 2018

असार २१, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका नागरिकहरुले सहज खानेपानी उपभोग गर्न तीन वर्ष कुर्नु पर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिर्घकालिन रुपमा खानेपानी समस्या निराकरणका लागि भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजना प्रक्रियागत रुपमा अघि बढेको हो ।

संस्थाको प्रयोगका स्रोतहरुमा झुप्रा खोला मुहानबाट ७६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोला मुहानबाट १७, खोर्के खोला मुहानबाट ४ र बुलबुले मुहानबाट ४ गरी १३४ लिटरप्रति सेकेण्ड पानी दैनिक खपत हुँदै आएको छ । यी आयोजनाहरुबाट मात्रै उपत्यकाको खानेपानी समस्या समाधान नभएपछि संस्थाले भेरी नदीको पानी पम्पीङ्ग गर्न डिपिआर तयार गरेर खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनालाई बुझाइसकेको छ । सी.एम.एस.जेकोन.जिकोन परामर्श दाताले उपत्यकाको दिर्घकालिन खानेपानी समस्या समाधान गर्न भेरी नदीबाट कति पानी पम्पीङ्ग गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन तयार गरेको थियो । परामर्शदाताका अनुसार भेरी नदीबाट ३८० लिटर प्रतिसेकेण्ड पानी पम्पीङ्ग गर्न सकिने प्रतिवेदन आयोजनालाई बुझाएको थियो । २ अर्ब ९१ करोड लागतमा निर्माण हुने यो आयोजनाको टेण्डर आह्वान आगामी कार्तिक महिनामा खोल्ने तयारीमा रहेको सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाका प्रमुख शंकणमणि ज्ञवालीले जानकारी दिए । 

‘यो आयोजना रोकिदैन्, हामीले कार्तिकमा टेण्डर आह्वान गरेर प्रक्रिया शुरु गर्छौ’ ज्ञवालीले भने,–‘कम्तिमा भविष्यमा प्राविधिक र सामाजिक रुपमा कुनै जटिलता नआउन भनेर प्रतिवेदनमाथि गहिरो अध्ययन जारी राखेका छौं ।’ झुप्रा खोला र भेरी नदीको दोभानबाट पानी पम्पीङ्ग गरेर वीरेन्द्रनगर–१० स्थित अमृत डाँडामा ल्याइनेछ । पम्पीङ्ग गरिएको पानी अमृतडाँडास्थित निर्माण हुने ४० लाख लिटरका चार वटा इन्टेकमा झर्नेछ । नदीदेखी अमृतडाँडासम्मको दुरी पाँचहजार पाँचसय मिटर उचाईमा छ । भेरी नदीमा रहने इन्टेकदेखी १ सय ३५ मिटरको दुरीमा पानी प्रशोधन केन्द्रहरु निर्माण हुनेछन् ।  थप १ सय ३५ मिटरको दुरीमा दोस्रो चरणमा पम्पीङ्ग गरेर अमृतडाँडामा पानी झारिने र उपत्यकामा पानी वितरण गरिनेछ । डिपिआर आयोजना कार्यालयमा पुगेकाले बर्खाको समयमा कागजी रुपमा सबै प्रक्रिया टुंग्याउने र डिपिआर स्वीकृत गर्ने तयारीमा रहेको ज्ञवाली बताउँछन् । ‘आयोजना निर्माणामा कुनै शंका नगर्नुहोस्, निर्धारित समयमै निर्माण सम्पन्न गर्न आयोजना गम्भीर छ’ ज्ञवालीले थपे ।

२०५७ सालमा स्थापना भएको संस्थाले ०६१ सालमा झुप्रा खोला आयोजना निर्माण सम्पन्न गरेर खानेपानी वीरेन्द्रनगरमा ल्याइएको थियो । सन् २००२ मा सेवा क्षेत्रको ५२ हजार ६२७ लाभान्वित जनसंख्यालाई दैनिक ४३ लाख ४८ हजार लिटर पानी वितरण गर्ने झुप्रा खोला आयोजनाको डिजाईन  हो । तर यो आयोजनाबाट कम्तिमा सन् २०२० मा एक लाख ४ हजार २ सय ३९ जनसंख्यालाई ८५ लाख ८ हजार लिटर पानीको आवश्यक पर्ने पूर्वडिजाईन आयोजना निर्माणकै चरणमा गरिएको थियो । सन् २०२० नपुग्दै उपत्यकाको जनसंख्या बढेपछि खानेपानी संकट चुलिएको हो । सञ्चालित खानेपानीको स्रोतमा उपत्यका भित्रका ३४ हजार ९ सय ४३ घरधुरीलाई थप खानेपानी वितरण गर्न नयाँ स्रोत रुपमा खरी खोला–बोरी खोला आयोजना सञ्चालनमा ल्याएको थियो । यो आयोजनाबाट २५ लाख ९२ हजार २ सयलिटर पानी थपिएको थियो । तर हाल हिउँदका महिनाहरुमा औषतमा दैनिक ३८ लाख ५० हजार र खडेरीमा ७९ लाख ४९ हजार लिटर पानी अपुग हुने गरेको छ । पानी थपहुँदा पनि उपत्यकाको खानेपानी समस्या समाधान नभएपछि भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजना संस्थाले अघि सारेको संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । संस्थाले समयमै काम सम्पन्न गर्न समन्वय गरिरहेको पनि देवकोटाले जानकारी दिए । उनका अनुसार आयोजनाको मुख्य मुहानमा सम्पवेल, पानी प्रशोधन केन्द्र, इन्टेक लगायत निर्माणको टेण्डर पहिलो चरणमा हुनेछ । यस्तै, वितरण प्रणालीको टेण्डर भने दोस्रो चरणमा गरेर निर्माण सम्पन्न गर्ने तयारीमा संस्था लागेको अध्यक्ष देवकोटाले उल्लेख गरे  ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!