म्याग्दी सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

Posted on: 09 Jul, 2018

म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ । 

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहजरुपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माण गर्न भूगर्वविद् र प्राविधिक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । 

सुरुङ मार्गका पाँच वटा विकल्पसहितको प्रतिवेदन तयार पारिएको इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । सबैभन्दा लामो पाँच किलोमिटर ५०० मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दूरीको सुरुङ बनाउन सकिने इञ्जिनियर गौतमले जानकारी दिनुभयो । 

पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सम्भाव्यता प्रतिवेदनसहित डिपिआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकायसँग प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । सवारीसाधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!