चितवन निकुञ्जबाट २६ गैँडा उपहार

Posted on: 10 Jul, 2018

असार २६, चितवन | चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । 

निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् । 


तश्विरमा: नेपाल सरकारले चीनलाई उपहार दिन लागिएको 'भद्र' नामको भाले गैंडा । चीन पठाउन लागिएको उक्त गैंडालाई भोली मंगलबार चितवनबाट काठमाडौ पठाईदै छ । तस्वीरः नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस

यसअघि गैँडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिनुभयो । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उहाँले बताउनुभयो । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । 

निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ । चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उहाँले बताउनुभयो । 


तश्विरमा: नेपाल सरकारले चीनलाई उपहार दिन लागिएको रुपसी नामको पोथी गैंडा । चीन पठाउन लागिएको उक्त गैंडालाई भोली मंगलबार चितवनबाट काठमाडौ पठाईदै छ । तस्वीरः नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!