शेयर बजारः दुई अर्ब बढीको कारोबार

Posted on: 14 Jul, 2018

असार ३०, काठमाडौँ | धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो । 

गत साता १८४ कम्पनीको रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलव ४१ अंकले घटेर अन्तिम दिन एक हजार १९१ दशमलव ९८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ६८ अंकले घटेर २५१ दशमलव शुन्य पाँच अंकमा आइपुगेको छ । 

यससाता कारोबार रकमको आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १५ करोड २५ लाख बराबरको शेयर कारोबार भयो । 

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख ९० हजार कित्ता शेयर कारोबार भएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!